मार्क्सको समय स्वतन्त्र पूँजीवादी विकाशको चरण थियो। खुला प्रतिस्पर्धा र असमान विकास पूँजीवादका चारित्रिक विशेषता थिए। जसबाट मार्क्सले के निचोड निकाले भने- स्वतन्त्र प्रतिस्पर्धाले ‘एकाधिकार पूँजीवाद’ जन्माउने छ र पूँजीवादको असमान विकासले नियमित रूपमा ‘आवधिक पूँजीवादी संकट’ जन्माउने छ। विगत दुई शताब्दीले यस कुराको पुष्टि गर्दै आएको छ। लेनिनको समयमा पूँजीवाद एकाधिकार पूँजीवादमा परिणत भइसकेको थियो। लेनिनले लेख्नुभयो ‘आज एकाधिकार पूँजीवाद यथार्थ भइसकेको छ र यो साम्राज्यवादमा रूपान्तरित भएको छ।’ आज पूँजीवाद त्यसभन्दा पनि अगाडि बढ्दै ‘सैन्यकृत एकाधिकार राष्ट्रिय पूँजीवाद’को चरणमा छ। विभिन्न नवसाम्राज्यवादी आर्थिक, सामाजिक, वैचारिक हतियार सहित नवउपनिवेशवादी नीति लिएर अत्यन्त आक्रामक रूपमा अगाडी आएको छ। विश्वकरण, नवउदारवाद, आर्थिक समायोजन आदि जस्ता वैचारिक हतियारहरूको प्रचुर प्रयोग गर्दै आफ्ना प्रभाव क्षेत्रको विस्तार र आर्थिक उपनिवेशवादको नीतिलाई अगाडि बढिरहेको छ।
विश्व औपनिवेशिक युगको समाप्तिपछि साम्राज्यवादले बहुराष्ट्रिय सैन्यकृत औद्योगिक प्रतिष्ठानको संरक्षणमा बहुराष्ट्रिय वित्तीय निगम, औद्योगिक तथा वित्तीय पूँजी, अन्तर्राष्ट्रिय उत्पादन र वितरण प्रणालीको सञ्जाल खडा गरी नवउपनिवेशवादी युगमा प्रवेश गरेको छ। नवउदारवाद, विश्वीकरण तथा सूचना साम्राज्य प्रणाली, सैन्यकृत औद्योगिक प्रतिष्ठान यसका मुख्य हतियार रहेका छन्। पूँजी तथा उत्पादनको अभूतपूर्व केन्द्रीयकरण तथा अस्त्र भण्डारणले पूँजीवादलाई बढी सबल, आक्रामक तथा व्यापक बनाएको छ। यो मार्क्सले देखाएको पूँजीवादी शरीर संरचनाको नै विकसित रूप र आफ्नो सारभूत चरित्रसहित विस्तारित पूँजीवादको अवस्था हो। त्यसको उपनिवेशवादी चरित्र र चिन्तनमा कुनै फरक आएको छैन। बल्की बढी सघन र बढी आक्रामक भएको छ। यस यथार्थताको बाबजुद आधुनिक पूँजीवादी अर्थशास्त्री तथा समाजशास्त्रीहरुले आधुनिक पूँजीवाद बिस्तारै सामाजिक जन कल्याणकारी व्यवस्थामा परिणत भइरहेको छ। अब श्रम र पूँजी परस्परमा संश्लेषसित भएका छन्। एक अर्काका परिपूरक अंग बनेका छन् भन्ने जस्ता तर्क पेस गर्ने गरेका छन्। तर, यो झुटो प्रचारबाजी मात्र हो।
जसरी ब्वाँसो कहिले पनि शाकाहारी बन्न सक्दैन, त्यसै गरी पूँजीवाद जन कल्याणकारी व्यवस्था बन्न सक्दैन। अतिरिक्त श्रमको शोषण बिना पूँजी बाच्न सक्दैन। अतिरिक्त उत्पादनको माध्यमबाट श्रमिकका श्रम शक्तिको अतिरिक्त शोषण नगरी पूँजी बन्दैन। हो, वर्तमान साम्राज्यवादी वैश्विक सञ्जालले श्रमिक वर्गको मुक्ति संघर्षलाई बढी जटिल र बहुआयमिक अवश्य बनाएको छ। आज मार्क्सको बेलामा जस्तो सोझो र स्पष्ट टक्करको सरल अवस्था रहेन। तर, श्रमिक वर्गले आफ्नो मुक्ति संग्राम लड्नु छ। कम्युनिष्टहरुले मजदुर आन्दोलनको नेतृत्व गर्नु छ। यसमा कुनै फरक आएको छैन। फरक छ त, वर्तमान ऐतिहासिक चरणमा यस युद्धको सही रणनीति र कार्य नीत तय गर्नु र आजका चरणको साम्राज्यवाद विरोधी संघर्षको स्वरूप परिभाषित गर्नु।
सोभियत संघको विघटन तथा विश्व मजदुर आन्दोलनको विखरावको वर्तमान अवस्थामा साम्राज्यवादीहरूले शीतयुद्धको नयाँ चरण सुरु गरेका छन्। हिजोको भन्दा आज यसको रूप भिन्न भएपनि सारमा कुनै अन्तर छैन। हिजोसम्म परम्परागत रूपमा साम्राज्यवाद विरोधी आन्दोलनका प्रमुख घटक रहेका- विश्व समाजवादी शिविर, विश्व मजदुर आन्दोलन, विश्व शान्ति आन्दोलन तथा राष्ट्रिय मुक्ति आन्दोलन आज त्यस रूपमा छैनन्। यसबाट साम्राज्यवादीहरूले केही राहत अवश्य महसुस गरेका छन्। तर, साम्राज्यवाद विरोधी नयाँ सामाजिक आन्दोलनहरू अगाडि आएका छन्। हिजोको तेस्रो विश्वका मुलुकहरू आज पुनः साम्राज्यवाद नवउपनिवेशवाद विरुद्ध संघर्षरत छन्। यी अन्तर्द्वन्द्व बढ्दै जाने छन् र संघर्षका अन्य नयाँ रूप अगाडि आउने छन्। गैर मार्क्सवादी क्षेत्रबाट समेत पूँजीवादको विकल्पको निरन्तर खोजी भइरहेको वर्तमान अवस्थामा विश्व कम्युनिष्ट तथा मजदुर आन्दोलनले र हामी स्वयंले पनि आजको अवस्थामा साम्राज्यवाद विरोधी राष्ट्रिय आन्दोलनलाई पुनः परिभाषित र समायोजित गर्नु आवश्यक छ।
पूँजीवादी आर्थिक संकटहरूको पुनरावृत्ति बढेको छ। पूँजीवादी अर्थशास्त्रीहरूले यसलाई पूँजीवादको विकास र समृद्धिसँग जोडेर व्याख्या गर्ने गरेको भएपनि यो पूँजीवादको असमान विकासका नियमको परिणाम हो। पूँजीवादले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेको विकास र उत्पादकत्व वृद्धि तथा विकसित पूँजीवादी देशहरूको जीवनस्तर आदिलाई देखाउँदै समाजवादभन्दा पूँजीवादको उत्कृष्टता र मानवतावादी चरित्र प्रमाणित गर्न पूँजीवादले मानव जीवनका लागि नयाँ आयाम खोलेको, राजकीय एकाधिकार पूँजीवादले विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ क्रान्ति गरी नयाँ चमत्कार गर्दै आम जनताका लागि वैभव निर्माण गरेको र यी उपलब्धिहरूबाट समाजमा व्याप्त विषमता तथा द्वन्द्व समाप्त भइरहेको आदि इत्यादि जस्ता तर्क पेश गर्ने गरेका छन्। तर, तथ्य त्यस विपरीत छन्।
पूँजीवादका यी उपलब्धि तथा समृद्धि दिन-प्रतिदिन झन्झन् सीमित परिवारहरूको हातमा केन्द्रित हुँदै गइरहेका छन्। अतिरिक्त श्रम शोषणको माध्यमबाट पहिलेभन्दा सयौं गुन बढी नाफा तिनका ढुकुटीमा जम्मा हुँदैछ। मार्क्सवादको क्षयीकरण, वर्गसंघर्षको असान्दर्भिकता, मजदुर वर्ग र पूँजीपति वर्गको पारस्परिक एकीकरण भइरहेको जस्ता तर्क नौला होइनन्। जुनवेला मार्कुजेले यस्ता तर्क अघि सार्दै अबको अवस्था विकसित पूँजीवादी देशहरूमा पूँजीवादको विकाससँगै सर्वहारा वर्ग पूँजीवादसँग एकाकार भइसकेको र अब वर्गसंघर्षको कुनै सान्दर्भिकता रहेन भन्दै मार्क्सवादको मुख्य सार ‘वर्गसंघर्षको’ नकार गरिरहेका थिए त्यसै कालखण्डमा इटली, फ्रान्स आदि जस्ता विकसित युरोपियन पूँजीवादी देशहरूमा पूँजीवादविरुद्ध मजदुर वर्गले तुमुल संघर्ष गर्दै राज्यसत्ताको जग हल्लाई रहेको थियो।
अर्का थरी तथाकथित मार्क्सवादीहरू मार्क्सवादको वकालत गर्दै त्यसको प्रशंसा त गर्छन्, तर लेनिनको मृत्युपछि सोभियत संघमा समाजवाद निर्माणको दौरान भएका गल्ती कमजोरी तथा त्यसपछि देखा परेका विकृतिहरूलाई प्रमाणको रूपमा प्रस्तुत गर्दै मार्क्सका मूलभूत प्रस्थापनाहरूलाई विगत युगीन चिन्तन र आधुनिक आणविक कालको यथार्थसँग मेल नखाने भन्दै मार्क्सवादको आधुनिकीकरण गरी त्यसलाई स्वस्थ पार्नु पर्दछ। अथवा यसको आधुनिकीकरण गरी आधुनिक पारमाणविक तथा साइवरनेटिक युग सुहाउँदो एक्काइसौं शताब्दीको यथार्थसँग मेलखाने बनाउनु पर्दछ जस्ता तर्क अगाडि सारेर मार्क्सवादको विरोध गर्दै छन्। तर, साररुपमा हेर्दा यी सब प्रयास मजदुर आन्दोलनलाई ‘डेप्रलेटाइज’ गर्दै वर्गसंघर्षबाट विमुख गराउने प्रयास हुन्। यस्ता भनाइहरूको प्रभाव शहरिया मध्यम वर्ग तथा मजदुर वर्गको माथिल्लो सुविधा भोगी तपकामा पर्दै गएको पनि देखिन्छ। यस्ता प्रचारहरूबाट मार्क्सवादप्रति आकृष्ट रहेको सामान्य निम्नपूँजीवादी जमात सजिलै पूँजीवादतर्फ डोरिन्छ पनि।
यो सत्य हो, कि समाजको विकाससँगै परिवर्तन र विकसित हुँदै जाने अवस्थाले मार्क्स र लेनिनले आ-आफ्नो समयको विशिष्टता अनुरूप स्थापित गरेका र परिभाषित गरेका ऐतिहासिक भौतिकवादी अवधारणाका केही पक्षहरू, सारमा होइन रूपमा फेरिएका छन्। तिनलाई नयाँ रूपमा परिभाषित गर्नु छ। यो काम मार्क्सका मूलभूत अवधारणा तथा मार्क्सवादी विश्लेषण पद्धति अनुसार गरिनु पर्छ। मार्क्सवादको कुनै वैज्ञानिक विकल्प अहिलेसम्म छैन।
अर्कोतर्फ श्रम र ज्यालाका पूँजीवादी सम्बन्धहरूबाट सधैं शोषित र अतिरिक्त श्रमको मार झेली रहेका आम श्रमजीवी वर्ग, चाहे त्यो कारखानाको मजदुर होस् अथवा कृषि मजदुर अथवा सेवा क्षेत्रको ज्यालादारी श्रमिक अथवा तकनिकी र विज्ञान क्षेत्रमा संलग्न ज्यालादारी श्रमिक आ-आफ्नै किसिमले श्रमको शोषणबाट मुक्तिका लागि निरन्तर संघर्षरत छन्। कम्युनिष्ट पार्टीहरू विश्वव्यापी रूपमा आ-आफ्नो अवस्था अनुसार निरन्तर संघर्षलाई पुनर्समायोजित र परिभाषित गर्दै नयाँ चरणका लागि संघर्षका नयाँ नारा, नयाँ रूप र संयुक्त संवाहक शक्तिको निर्माणको खोजीमा छन्। यस अवस्थामा अब कम्युनिष्ट आन्दोलनलाई हिजोको ‘एउटै छानामुनि काम गर्ने’ ‘ब्ल्यूकलर’ सर्वहारा वर्गको सीमित घेराभन्दा बाहिर निकाली सम्पूर्ण श्रमिक वर्गलाई समेट्ने गरी वर्ग संघर्षको दायरा फराकिलो पार्दै संघर्षलाई पुनर्गठित गर्नु आवश्यक छ। यसबाट आउँदा दिनमा श्रमिक आन्दोलनले नयाँ आयाम र नयाँ उचाइ लिने छ। आम श्रमिक जस्तै आफ्नो पनि शोषण भइरहेको छ भन्ने चेतनाको विकाससँगै अन्य श्रमजीवी तपका पनि पूँजीवादी श्रम शोषणविरुद्धको आम मजदुर वर्गको संघर्षमा सम्मिलित हुने छन्। आन्दोलन नयाँ रूपमा विकसित हुने छ। वर्गसंघर्षको विगत इतिहास नै यसको साक्षी छ।
सामन्ती उत्पादन प्रणालीको समाप्तिपछि त्यसको गर्भबाट जन्मेको पूँजीवादी उत्पादन प्रणालीमा यान्त्रीकरणको विकासले गर्दा उत्पादनमा वृद्धिसँगै बजारको निरन्तर विकास हुँदै जाने क्रममा उत्पादनको माग बढ्दै गयो। बाष्प शक्तिको प्रयोग र नयाँ मेसिनहरूको आविष्कारले उत्पादनमा नयाँ क्रान्ति ल्यायो। यस क्रममा साना तथा मध्यम स्तरीय उत्पादकहरूलाई विस्थापित गर्दै तिनको स्थान औद्योगिक उत्पादनको नेतृत्व गरिरहेका आधुनिक ठूला एकाधिकार पूँजीपतिहरूले लिए र यान्त्रीकरण नयाँ उत्पादन प्रणालीको जन्म भयो। अर्कोतर्फ उत्पादकत्व र उत्पादन प्रणाली तथा बजारको निरन्तर विकास प्रक्रियाको प्रत्येक खुड्किलोसँगै विकसित हुने उत्पादक शक्ति सर्वहारा वर्गको पनि संख्यात्मक र संगठनात्मक विकाससँगै राजनैतिक चेतना र वैचारिक धरातलको पनि विकास हुँदै आएको छ।
पूँजीपति वर्ग पूँजीको निरन्तर विकास र नाफाका लागि उत्पादनका औजारहरूमा निरन्तर परिवर्तन नगरी बाच्न सक्दैन। वर्तमान अवस्थामा देखिएका अत्याधुनिक औजार, यान्त्रिक उत्पादन र प्रविधिको विकास यस गतिका परिणाम हुन्। यसबाट न रिकार्डो र स्मिथको ‘लैवर थ्योरी औफ भैल्यु’ खण्डित भएको छ न मार्क्सको ‘अतिरिक्त मूल्यको सिद्धान्त’। एकाधिकार पूँजीवादको वर्तमान चरणमा, जहाँ एकाधिकार बहुराष्ट्रिय औद्योगिक निगम तथा बहुराष्ट्रिय वित्तीय निगमहरू, औद्योगिक पूँजी, वित्तीय पूँजी तथा विज्ञानको पारस्परिक सम्मिलन भएको छ। यी नियमहरू सर्वत्र यथारूपमा क्रियाशील छन्। पूँजीको निरन्तर वृद्धि, उत्पादनका औजारहरूको निरन्तर विकास अतिरिक्त श्रमको शोषण विना हुन सक्दैन। यो वस्तुगत सत्य हो।


सञ्चारपथ । १५ बैशाख २०८०, शुक्रबार ०४:४३