काठमाडौँ । प्रमुख दलका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
शीर्ष तीन नेताबीचको भेटवार्ता अहिले जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए । उनका अनुसार शीर्ष तीन नेताबीचको छलफल ९ बजेबाट शुरू भएको हो ।
यस्तै अध्यक्ष केपी ओली बैठकमा सहभागी हुन बालुवाटार गएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । उनीहरूबीच कुन विषयमा कुराकानी हुँदैछ भन्ने खुलाइएको छैन । छलफलको विषय आफूलाई पनि जानकारी नभएको बजगाईंले बताए ।
शीर्ष तीन नेताबीच गत आइतवार पनि बालुवाटारमै भेटवार्ता भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तरंगित भइरहेका बेला उनीहरूको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
शरणार्थी प्रकरणमा कांग्रेस–एमालेका नेताहरू समेत मुछिएका छन् ।



सञ्चारपथ । २६ बैशाख २०८०, मंगलवार ०५:१०