पश्चिम सुर्खेतमा हावाहुरीले सयौँ घरधुरीमा क्षति (तस्वीरहरु)

 

सुर्खेत । हावाहुरीका कारण पश्चिम सुर्खेतका ठुलो क्षति भएको छ । सोमबार रातीको भिषण हावाहुरीका कारण सयौँ व्यक्तिको घरमा क्षति पुगेको हो । यस्तै विभिन्न कार्यालयका भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

पश्चिमका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा ठूलो मात्रामा क्षति भएको त्यहाँका स्थानीयहरुले बताएका छन् । चौकुने गाउँपालिकाको वडा नम्बर ८ स्थित भट्टेसरका पहिरो पीडितका १२ वटा घर–टहरा पुर्ण रुपमा क्षती भएका छन् ।

चौकुनेका अन्य वडाहरुमा पनि ठुलो मात्रामा स्थानीयका घर र कार्यालयका संरचनामा क्षती भएको छ । यद्यपि अहिलेसम्म कति घरधुरीमा क्षती भयो भन्ने एकिन तथ्यांक संकलन भइसकेको अवस्था छैन । त्यसका लागि न सरकार न प्रहरीले नै चासो दिएको देखिन्छ ।

स्वंयम् गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष पालिका बाहिर छन् भने पालिकाका कर्मचारीलाई यो विषयमा कुनै जानकारी नै छैन ।

चौकुनेमा संचारको समस्या भएकाले सबै ठाउँमा सम्पर्क हुन नसकेको कर्मचारीहरु बताउँछन् । चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विकले पालिकाभर करिब २ सयको हाराहारीमा घरधुरी, कार्यालयहरुको भौतिक संरचनामा क्षति पुगेको आकलन गरिएको बताए ।

यद्यपि आफु वीरेन्द्रनगरमा रहेको र बुधबार पुगेर क्षतीको विवरण संकलन गरिने उनले बताए । यस्तै पञ्चपुरीमा पनि सयौं घरधुरी र कार्यालयका भवनहरुमा क्षती पुगेको स्थानीयले बताएका छन् ।

पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालविर भण्डारीका अनुसार पञ्चपुरीको वडा नम्बर ८ को दुललाथाई भन्ने ठाउँमा थुप्रै घरधुरीमा क्षति पुगेको छ । उनका अनुसार २९ वटा स्थानीयका घर र एउटा विद्यालयको भवनमा क्षती पुगेको छ ।

क्षती पुगेको अधिकांश घरको छाना उडाउनेदेखि भत्किएको स्थानीयले बताएका छन् । यस्तै वडा नम्बर ९ का पनि ७ भन्दा बढी घरमा क्षती भएको छ भने वडा नम्बर १० को सरस्वती माध्यमिक विद्यालय, सरस्वती प्राविको भवनमा पनी क्षति भएको छ ।


इलाका प्रहरी चौकी बाबियाचौरका सहायक हल्दार मोहन विकका अनुसार पञ्चपुरीको वडा नम्बर ११ मा ७ घर, एउटा विद्यालय र एक संस्थाको जस्ता पाता उडाएको छ । यद्यपि अन्य वडामा पनि क्षति पुगेको र तथ्यांक एकिन संकलन भइनसकेको उनको भनाई छ ।

नगरप्रमुख भण्डारीले बुधबारसम्म सबै तथ्यांक संकलन गरिने र त्यसपछि के गर्नुपर्छ ? त्यही अनुसार सल्लाह गरिने बताए । बराहताल गाउँपालिका–४ तरङ्गाको श्री सरस्वती आधारभूति विद्यालयको छाना उडाएको छ । क्षति भएका विद्यालयमा पठन–पाठनमा समस्या पगेको छ भने स्थानीयको घरमा भएको क्षतिका कारण परिवारको विचल्ली छ । तर, विपद्को समयमा स्थानीय सरकार, प्रदेश सरकार र जिल्ला विपद् शाखाबाट हुनुपर्ने सहयोग स्थानीयले नपाएको गुनासो गरेका छन् ।

राजनीतिक दलका पालिका संगठनहरुले भने भौतिक संरचनामा पुगेको क्षतिका कारण विद्यार्थीको पठनपाठन, हावाहुरीले प्रभावित स्थानीयको खाना, बस्न समेतमा समस्या भएको र त्यसको समस्या समाधान, क्षतिपुर्ती लगायतका कुरामा ध्यान दिन आग्रह गरिरहेका छन् ।

माओवादी पञ्चपुरी नगर कमिटीका अध्यक्ष केशव शाहीले क्षतिपूर्तिको व्यवस्थापन, विद्यार्थीलाई पठनपाठनको वैकल्पिक व्यवस्थापन गर्न, जोखिममा रहेका बस्तीका मान्छेलाई उच्च सतर्कता अपनाउदैं सुरक्षित स्थानमा स्थानान्तरण गरि खाना र बासको उचित व्यवस्थापन गर्न तीनै तहका सरकारलाई अनुरोध गरेका छन् ।

यस्तै माओवादी चौकुने गाउँपालिका कमिटीका अध्यक्ष गंगराम विकले पनि खाना र बासको उचित व्यवस्थापन गर्न तीनै तहका सरकारलाई अनुरोध गरेका छन्।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा भने मुचुल्काका लागि प्रहरी खटिसकेको र विवरण संकलन गर्ने काम भइरहेको बताउँछन् ।

 

 

तपाईको प्रतिक्रिया