वडाध्यक्ष र सचिवको मिलेमतोमा किर्ते हस्ताक्षर गरि खेलकुद सामग्री हस्तान्तरण

 

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–६ का वडाध्यक्ष र वडा सचिवले किर्ते हस्ताक्षर गरेर खेलकुद सामग्री हस्तान्तरण गरेको पाइएको छ ।

वडाध्यक्ष गोविन्द थापा र सचिव सीता पाण्डेको मिलेमतामा उक्त सामग्री हस्तान्तरण गरेको पाइएको हो । सँगै सामग्री खरिदमा समेत अनियमितता भएको आशंका गरिएको छ ।

२ मंसिर २०७९ मा वडा कार्यालयबाट निर्णय भई स्थानीय दोभान असल शासन युवा क्लव र चौकुने एकता समाजलाई १ लाख बराबरको खेलकुद सामग्री दिने निर्णय भएको थियो ।

संचारपथलाई प्राप्त विवरण अनुसार ४ जेठमा वडा कार्यालयको सिफारिस अनुसार स्थानीय न्यु युनिक स्टेशनरी, श्री.डि.एच.ग्रिल उद्योग र श्री कृष्ण जनरल स्टोरबाट ९७ हजार ७०० को खेलकुद सामग्रीको रकम भुक्तानी भएको पनि देखिन्छ । तर, उक्त सामग्री पाउनुपर्ने दोभान असल शासन युवा क्लवलाई भने हस्ताक्षर किर्ते गरि हस्तान्तरण गरिएको छ ।

६ मंसिर २०७९ मा सामाग्री हस्तान्तरण फारममा वडाध्यक्ष थापा र सचिव पाण्डेले हस्ताक्षर गरेका छन् भने क्लवका तर्फबाट अध्यक्ष पुर्णबहादुर शाही र सचिव भरत बयकको हस्ताक्षर देखिन्छ । यद्यपि आफ्नो हस्ताक्षर किर्ते गरिएको र बयकको दाबी छ ।

साथै खेलकुद सामग्री वडाध्यक्षले आफु निकट व्यक्तिहरुलाई वितरण गरेको स्रोतको दाबी छ । क्लवका अध्यक्ष पुर्णबहादुर शाहीले हस्ताक्षरबारे आफुहरुलाई कुनै जानकारी नभएको बताए । ‘हामीलाई यो विषयमा थाह नै छैन, हाम्रो हस्ताक्षर कसरी भयो हामी नै अचम्ममा परेका छौँ,’ उनले भने,‘ यो सरासर झुठो हो, वडाध्यक्ष लगायतले यसमा बेइमानी गरेको देखिन्छ ।’

यद्यपि सामग्री भने केही पाइएको क्लवले बताएको छ । प्राप्त विवरण अनुसार क्लवलाई दिनुपर्ने फुटबल पोष्टजाली १ सेट, फुटबल कर्रन झण्डा १ सेट, फुटबल ३ थान, गोल पोष्ट पोल १ सेट, फुटबल जुत्ता १ जोर, मोजा ७ जोर, गेम ड्रेस ७ जोर खरिद गरिएको छ ।

तर, ९७ हजार ७०० को खरिद भनिएपनि सामग्री हिसाब ४८ हजार ८५० मात्र बुझिलिएको देखिन्छ । त्यस बाहेकको बाँकी ४८ हजार बराबरको रकमको हिसाब प्रष्ट देखिँदैन ।

स्रोतका अनुसार वडाध्यक्षले सम्बन्धीत क्लवका बास्तविक खेलाडीले सामग्रीको उपयोग गर्न नपाएको र आफ्नो पार्टीका केही अमुख कार्यकर्तालाई दिएको बुझिएको छ । उनी नेकपा एमाले एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

क्लवका प्रतिनिधिहरुसँग वडाध्यक्ष थापाले किर्ते हस्ताक्षरबारे आफुबाट गल्ति भएको पनि स्वीकार गरेका थिए । संचारपथसँग प्रतिकृया दिँदै वडाध्यक्ष गोविन्द थापाले भने सामान खरिद गरेको स्वीकार गरेपनि किर्ते हस्ताक्षरबारे भने स्पष्ट जवाफ दिएनन ।

‘सामान खरिद गरिएको नै हो, फोनको माध्यमबाट हामीले क्लवलाई सामग्री पनि दिएको हो,’उनले भने । तर, संचारपथलाई प्राप्त विवरण अनुसार हस्तान्तरण फारममा वडाध्यक्ष र सचिवको हस्ताक्षर भएपनि वडा कार्यालयको छाप भने उल्लेख गरिएको छैन ।

जसले गर्दा वडा कार्यालयमाथि आशंका पैदा भएको छ । साथै वडाध्यक्ष थापाले खरिद गरिएको सामग्री कहाँ छ र क–कसलाई दिइएको हो भन्ने बारेमा समेत स्पष्ट जवाफ दिएनन ।

वडा सचिव सीता पाण्डेले भने हस्ताक्षरको विषयमा आफुलाई कुनै जानकारी नभएको र आफुले ४ जेठमै फाइल तयार गरी घर आएको बताइन् ।

हेर्नुहोस् रातो घेरामा किर्ते हस्ताक्षर

 

भुक्तानी सिफारिसको पत्र

 

निर्णय भएको पत्र

सम्बन्धीत पसलबाट खरिद गरिएको सामग्रीको पत्र

तपाईको प्रतिक्रिया