सुर्खेत । सुर्खेतका एक लाख भन्दा बढी बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले जेठ २८ गतेदेखि असार पाँच गतेसम्म १५ वर्ष मुनिका एक लाख ९ हजार बालबालिकालाई उक्त खोप लगाइने जानकारी गराएको हो ।
‘बालबालिकालाई खोज र खोप’ नामक अभियान नै सञ्चालन गरेर खोपको पहुँचमा ल्याइने जन स्वास्थ्य कार्यालयले जनाएको छ ।सुर्खेतमा चालु आर्थिक वर्ष २०७९÷८० मा ६५ जना शंकास्पद बिरामीको चेकजाँच गर्दा पाँच जनामा दादुरा भेटिएको छ ।
गुर्भाकोटका एक जना, चिंगाड र वीरेन्द्रनगरका २/२ जनामा दादुरा भेटिएको । डा. श्रद्वा पंगेनीका अनुसार सुर्खेतका तीन ओटा पालिकामा दादुरा भेटिएको छ । सन २०२३ मा दादुरा निवारण गर्ने सरकारको लक्ष्य रहेपनि यो पटक त्यो सम्भव नहुने उनको भनाई छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गणेशभक्त गौतमका अनुसार सुर्खेतमा ५४७ वटा खोप केन्द्रहरु रहेका छन् । ती सबै खोप केन्द्रबाट दादुरा खोप लगाइने उनले बताए ।
खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटाइने छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले दक्ष स्वास्थ्यकर्मी, सञ्चारकर्मी देखि सरोकारवाला निकायले यो महाअभियानलाई सफलता पूर्वक सम्पन्न गर्नुपर्ने बताए ।
उनले भने, ‘प्रदेश राजधानी जस्तो जिल्लामा चार प्रतिशत बालबालिका शुन्य खोप लगाउने संख्या भेटिनु लज्जाको विषय हो ।’


सञ्चारपथ । २४ जेष्ठ २०८०, बुधबार १३:५६