सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लागुऔषध कारोबारको ‘हटस्पोट’ बन्दै गइरहेको छ । प्रहरीले दैनिकजसो वीरेन्द्रनगरका विभिन्न होटेलहरुबाट लागुऔष कारोबारीहरुलाई पक्राउ गर्ने गरेको छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रत्येक बर्ष लागुऔषध सेवनकर्ताहरुको संख्यामा वृद्धि हुँदै आएको छ ।
आर्थिक वर्ष २०७७-०७८ मा १०६ जना पुरुष र १७ जना महिला गरि १२३ जना लागुऔषध कारोकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर आथिर्क वर्ष २०७८-०७९ मा आउँदा यो संख्या बढेको देखिन्छ ।
तथ्यांक अनुसार १६४ जना पूरुष र ८ जना महिला गरि १७२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । चालु आर्थिक बर्षको अहिलेसम्म १६३ जना लागुऔषध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसमा पनि १५० जना पुरुष र १३ जना महिलाहरु रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय प्रहरी प्रमुख डीआईजी भिम प्रसाद ढकालले कर्णालीमा प्रत्येक वर्ष लागुऔषधका कारोबारी र सेवनकर्ताहरु बढ्दै गएको बताए । तथ्यांक अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध सेवनकर्ता रहेकोमा कर्णालीमा मात्रै १ हजार ८११ जना रहेका छन् । जसमध्ये १ हजार ७ सय ६८ पुरुष र ४३ महिला रहेको उनले बताए ।
उनले भनेजस्तै पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरबाट महिला लागुऔषध कारोबारी समेत प्रहरीको नियन्त्रणमा आउने गरेका छन् ।
ढकाल नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेर मात्रै नहुने बताए । ढकालका अनुसार पछिल्लो समय हिमाली जिल्लामा समेत लागुऔषधको कारोबार भइरहेको छ । साथै उनले पछिल्लो समय विकाससँगै लागुऔषधको कारोबार पनि बढ्दै गइरहेको बताए ।
‘यातायात पुग्ने ठाउँमा लागुऔषध कारोबार बढी नै हुने भएकाले यातायात र लागुऔषध नङ्ग र मासुको जस्तै सम्बन्ध हुन्छ,’ उनले भने,‘ लागुऔषधबारे घरपरिवार तथा विद्यालयका शिक्षकहरुले समेत यो राम्रो होइन भन्ने खालको शिक्षा दिनुपर्छ ।’
आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले लागुऔषध नियन्त्रणका लागि आवश्यक कानून, कार्यविधि तथा योजनाहरु बनाएर कार्यान्वयन गर्न सकेमा लागुऔषध नियन्त्रण हुने सक्ने विश्वास आफुले लिएको बताए ।



सञ्चारपथ । १२ असार २०८०, मंगलवार ०२:०२