रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भाडाका सेनाको समूह वाग्नरका लागि सम्पूर्ण रकमको व्यवस्थापन रुस सरकारले गरिरहेको स्वीकार गरेका छन् । वाग्नर समूहको विद्रोहपछि पुटिनका निर्णयहरूबारे रुसभित्रै प्रश्न उठिरहेका बेला उनले ठूलाे रकम खर्चेकाे स्वीकारेका हुन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार वरिष्ठ अधिकारीहरूसँगको भेटमा पुटिनले भने, ‘म सबैलाई बताउन चाहन्छु कि वाग्नर समूहको सम्पूर्ण रकम रुसी सरकार, रक्षा मन्त्रालय र रुसी बजेटले गरिरहेको थियो ।’
उनले मे २०२२ देखि मे २०२३ सम्म नै वाग्नर समूहलाई ८६.२६२ अर्ब रुबल अर्थात ८१ अर्बभन्दा धेरै रुपैयाँ भुक्तानी गरेको दाबी गरे । उनले अब अधिकारीहरूले वाग्नर र उनका प्रमुख येवगेनी प्रिगोजिनलाई दिइएको पैसा कहाँ प्रयोग गरियो भनेर अनुसन्धान गर्ने बताए ।

यसैबीच बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले वाग्नर समूहको खर्चमा येवगेनी प्रिगोजिन बेलारुसमा बसेको बताएका छन् । लुकासेन्कोले वाग्नर लडाकुहरूको लागि शिविर स्थापना गर्न भने अस्वीकार गरेका छन् ।
वाग्नरका प्रमुख प्रिगोजिनले गत शनिबार रुसको रोस्तोभ शहर नियन्त्रण लिएका थिए । उनले लडाकुहरूसँगै मस्कोतर्फ मार्चको घोषणा पनि गरेका थिए । यद्यपि, केही घण्टापछि उनले रुसी सरकारसँग सम्झौता गर्दै विद्रोह फिर्ता लिएका थिए ।
याे पनि


सञ्चारपथ । १३ असार २०८०, बुधबार ०३:०९