अन्तरजातीय विहेको निहुँमा घर आगजनी गर्नेविरुद्ध मुद्दा दर्ता

 

जुम्लामा अन्तरजातीय बिहेको निहुँमा घर आगजनी गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा मुद्दा दर्ता भएको छ। आफ्नी बहिनीलाई भगाएर बिहे गरेको निहुँमा दलित समुदायका केटाको घरमा आगजनी गरेको आरोपमा हिम्मत गिरी,काका नारायण गिरी,बुबा श्रिराम गिरीविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो।

अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण बदला लिने उद्देश्यले घरमा आगजनी गरिएको भन्दै जिल्लाका दलित अधिकारकर्मी र संघसंस्थाहरूले दबाब बढाएपछि प्रहरीले आगो लगाउने गिरीविरुद्ध मुद्दा दर्ता गरेको हो।

तातोपानी गाउँपालिका–४ का गिरीले आइतबार बिहान ४ बजे सोही गाउँमा रहेको केटाको घरमा आगो लगाइदिएका थिए। उनलाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिएको थियो। त्यसक्रममा उनले आफूले रिसको झोंकमा आएर आगो लगाएको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्।

उनीविरुद्ध आपराधिक उपद्रो र जातजातिका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक राजु सार्कीले जानकारी दिए।

दुई वर्षको प्रेम सम्बन्धपछि एकै गाउँका मुकुन्द नेपाली र बसन्ती गिरीले भागेर विवाह गरेका थिए। उनीहरूले भागेर विवाह गरेको ४ दिनपछि केटीका दाजु हिम्मतले मुकुन्दको घरमा आइतबार बिहान आगो लगाइदिएका हुन्। घरमा कोही नभएका कारण मानवीय क्षति नभएपनि घर पूर्णरुपमा जलेको छ।

अन्तरजातीय विवाह गरेकै कारण केटाको परिवारको ज्यानसमेत जोखिममा पार्ने गरी घरमा आगो लगाइएको भन्दै जुम्लाका दलित संघसंस्था र अधिकारकर्मीले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

तपाईको प्रतिक्रिया