नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाहले आफू कर्णाली प्रदेशमा संसदीय दलको नेता चुनाव लड्ने आकांक्षा राखेपछि गुटको शिकार हुनुपरेको बताएका छन् ।
उनले पार्टीकै पदाधिकारी तहबाट गुट निर्माण भएको भन्दै त्यसको शिकार हुनुपरेको गुनासो पार्टी केन्द्रीय समितिसमक्ष राखे ।
केन्द्रीय समितिको बैठकमा उनले भने, “कम्युनिष्ट पार्टीको गढ मानिएको जिल्लाबाट दुई दुई पल्ट म निर्वाचित भएको छु । एकपल्ट संघमा र एकपल्ट प्रदेशमा । तर पनि लगातार गुटको शिकार हुनुपरेको छ । महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित मैले प्रदेश सभामा संसदीय दलको नेतामा प्रतिष्पर्धाको आकांक्षा राखेको थिएँ । म चुनाव लडेर त्यसबाट प्राप्त जस्तोसुकै नतिजा सहजताका साथ स्वीकार गर्न तयार थिएँ । तर दिइएन । किन ? लोकतान्त्रिक पार्टीमा प्रतिष्पर्धा गर्छु भनेर मैले चाहना राख्नु अपराध थियो ? त्यही चाहना राखेको आधारमा उपगुटको शिकार हुनुपर्ने ? हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौँ सभापतिज्यू ?”
उनले चुनाव लड्छु भन्दा पार्टीका पदाधिकारीबाट भएको व्यवहारको बारेमा पनि टिप्पणी गरे । “मैले संसदीय दलको नेता चुनाव लड्छु भन्दा पार्टीकै पदाधिकारीबाट कस्तो व्यवहार भयो ? जगजाहेर छ । त्यो अपराधको भागीदार कहिलेसम्म हुनुपर्ने हो ? के के सजाय पाउनुपर्ने हो ? कांग्रेसको नेतृत्त्व तहमा बसेका जिम्मेवार नेताले गरेको यो व्यवहार हामीले कहिलेसम्म सहनुपर्ने हो ? लोकतान्त्रिक पार्टीमा विचार विमर्स हुनुपर्छ कि पर्दैन ?,” उनले भने ।
शाहले पार्टीबाट सरकारमा गएका मन्त्रीले तीन महिनामा राम्रो काम गर्न नसके फिर्ता बोलाउनुपर्ने प्रस्ताव पनि राखेका छन् । त्यस्तैगरी उनले पार्टीका केन्द्रीय सदस्यहरुभित्र गुम्सिएर रहेको कुरा लाइभ भइरहेकाले खुलेर नआएको बताए ।
“केन्द्रीय समितिको लाइभ गरेर हामीले ठिक गरेका छौं ?,” उनले भने ।
उनले पार्टीभित्रको गुट अन्त्य गरेमा चुनाव जित्न सहज हुने बताए ।
“हामीले हामीभित्रै मिलाउन नसक्दा उपनिर्वाचनमा पराजय भोग्नुपरेको होइन ? गठबन्धन नराम्रो होइन तर पहिला हामी वलियो हुनुपर्छ एक हुनुपर्छ । अनि गठबन्धनको मत आउँदा हामी सहजै जित हासिल गर्ने अवस्थामा पुग्छौँ,” उनले भने ।


सञ्चारपथ । ४ श्रावण २०८०, बिहीबार ०८:१३