वामदेव गौतमकाे ठाेकुवा : यो संसद् रहेसम्म देश विकास हुँदैन

 

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले यो संसद् रहँदासम्म देश विकास नहुने बताएका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाले कार्यकारी चुन्ने प्रणाली हुँदासम्म देश अगाडि जान नसक्ने ठोकुवा गरेका हुन्।

‘प्रदेश सभाको के काम छ? संविधानमा छ त्यसकारण मैले अन्यथा भन्दिनँ। तर काम के छ? कहाँनेर गर्छ काम? २७५ जनाको प्रतिनिधि सभा किन चाहिएको छ? घटाउनुस्। यसलाई २०० मा झार्नुस्। २०३, २०५, अथवा १५०, १५१ बनाउनुस् तै पनि चल्छ। राष्ट्रिय सभाको सदस्य हुँ भन्न त मिलेन। तर, प्रतिनिधि सभाभन्दा छुट्टै के छ? अधिकार के छ? कर्तव्य के छ?,’ उनले भने।

उनले बेलायतको नक्कल गरेर संसदीय प्रणाली अवलम्बन गरिएको बताए।

‘१७ औं शताव्दीको कुरा हो, जतिबेला राजाको टाउको काटेर बेलायतभरि घुमाएका थिए। पछि श्रमिकहरूले विद्रोह गरेपछि श्रमजीवीकोविरूद्ध त्यहाँका जमिन्दारहरू मिलेर छुट्टै अपर हाउस बनाए, जसलाई हाउस अफ लर्ड भनियो।लर्ड भनेको भगवान मात्रै होइन, लर्ड भनेको जमिन्दार, सामन्त पनि हो। तिनीहरूसँग मिलेर हाउस अफ् कमन भनियो,’ उनले भने, ‘नक्कल गरेर हामी अहिले यहाँ छौं। नक्कल धेरैतिर भएको छ। संसदीय क्षेत्रमा पनि भएको छ। यो संसद् रहँदासम्म विकास हुँदैन देश अगाडि जान सक्दैन। प्रतिनिधि सभाले कार्यकारी चुन्ने प्रणाली हुँदासम्म देश अगाडि जान सकिँदैन।’

तपाईको प्रतिक्रिया