कर्णालीका स्वतन्त्र सांसद शाही कांग्रेसमै फर्किए

 

सुर्खेत । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देबेन्द्रबहादुर शाही पार्टीमा फर्किएका छन् । पार्टीले कारबाही फुकुवा र केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही नेपाली कांग्रेसमै फर्किएका हुन् ।

सनिबार कांग्रेस जुम्ला कमिटीले शाहीलाई स्वागत गरेको थियो । जुम्ला निर्वाचन क्षेत्र (क) बाट निर्वाचित उनी प्रदेश सभा निर्वाचनमा पार्टीले टिकेट नदिएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए ।

उनले कांग्रेसकै प्रदेश सभापति ललितजंग शाहीलाई नै पराजित गरेका थिए । पराजितले चुर भएका प्रदेश सभापति शाहीले उनलाई पार्टीमा ल्याउनै चाहेका थिएनन् । यद्यपि सांसद शाही भने आफु जुम्लामा सक्कली कांग्रेस भएको र आफ्नो रगतमा पनि कांग्रेस नै भएको बताउँदै आएका थिए ।

उनले चुनावको बेलामा आफुलाई पार्टीले अन्याय गरेको बताए । ‘म सँग जनमत टन्नै थियो तर, पार्टीले अन्याय गरेपछि बिद्रोह गर्नुपरेको थियो,’ उनले भने,‘चुनाव जितेर बिद्रोहको औचित्य पनि त पुष्टि गरे नि !’

सांसद शाही पार्टीमा फर्किएसँगै प्रदेश सभामा कांग्रेस सांसदको संख्या १५ पुग्ने भएको छ ।

तपाईको प्रतिक्रिया