नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो ।
कांग्रेस र एमालेबिचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने बैठकले निर्णय गरेको उनले बताए ।
उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए । उनले बैठकले एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गरेको बताए ।
उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले गत एक हप्तादेखि कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास र वार्ता थालेसँगै प्रधानमन्त्रीले अविश्वासको वातावरण सिर्जना गर्दा यो स्थिति आएको बताए । प्रधानमन्त्रीको प्रस्ताव कांग्रेसले अस्वीकार गरेपछि एमाले र कांग्रेसले छलफल अघि बढाएको बताए । उनले राजनीतिक स्थायित्व र लोकतन्त्रको अभ्यासका लागि दुई मिलेर अघि बढ्ने निर्णय भएको बताए ।
बैठकले कांग्रेस र एमालेको बिचमा भएको समझदारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागतसहित समर्थन गर्ने निर्णय गरेको बताए ।राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन, मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि सरकारमा सहभागी हुन र सघाउन तथा सरकार बन्ने वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए । दुई ठुला दल सहमतिमा पुगिसकेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्नेकुरा वाञ्छनीय हुने उनले बताए ।



सञ्चारपथ । १८ असार २०८१, मंगलवार १५:२४