भारतमा मयुर पकाएर खाने युट्युबर पक्राउ

भारतको संरक्षित राष्ट्रिय चरा मयूरलाई खाना पकाएर खाएको भिडियोले आक्रोश बढेपछि कोडम प्रणय कुमारलाई पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले बताएको छ ।

अखबारले भनेको छ, “सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त भिडियोको निन्दा गर्दै कुमारमाथि अवैध वन्यजन्तुको उपभोगलाई बढावा दिएको र राष्ट्रिय प्रतीकको अनादर गरेको आरोप लगाएका छन् ।

उनले आफ्नो ‘करी डिस’ भिडियोका लागि जुन पक्षीलाई पकाएका थिए त्यो वास्तवमा मयूर थियो भन्ने ‘उनको मोबाइल फोनको अन्य भिडियोबाट पुष्टि भएपछि पक्राउ गरी जेल पठाइएको प्रहरीले बताएको छ ।

रङ्गीन पक्षी मयूरहरू कडा वन्यजन्तु कानूनअन्तर्गत संरक्षित छन् । दक्षिणी राज्य तेलङ्गानाका प्रहरी उपरीक्षक अखिल महाजनले भन्नुभयो, “उनी अहिले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत १४ दिनको हिरासतमा छन् र उनी जेलमा रहने वा जमानत पाउँछन् भन्ने अदालतले फैसला गर्नेछ ।”

कुमारले भिडियोका लागि कसरी र कहाँबाट मयूर प्राप्त गर्न सफल भए भन्ने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाउने प्रयास गरिरहेका छन् । उक्त भिडियो पछि हटाइएको थियो ।

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार भिडियोमा उनले मयुरको मासु पकाइरहेको र यो ‘कथित रूपमा धेरै दर्शक आकर्षित गर्नका लागि स्टन्ट गरिएको थियो । भालेमा आफ्नो चम्किलो नीलो रङ र शानदार प्वाँखले चिनिने भारतीय मयूरले भारतमा विशेष प्रतीकात्मक महत्त्व राख्दछ ।

रत्नजडित मयूर चित्रण गरिएकाले भारतको मुगल शासक वंशको सिंहासनलाई मयूर सिंहासन पनि भनिन्थ्यो । मयूर कुनै समय उत्तरी भारतीय मैदानहरूमा ठूलो सङ्ख्यामा रहेका थिए ।

पछिल्ला केही दशकमा तीव्र सहरीकरण र बासस्थानको क्षतिले जङ्गलमा मयूरको सङख्या धेरै घटेको छ । वन्यजन्तु कानूनहरूअन्तर्गत कडा सजाय र जरिवानाको साथमा यिनीहरूलाई शिकार वा हानि हुनबाट जोगाइएको छ । (रासस,एएफपी)

तपाईको प्रतिक्रिया