सरकार छोड्ने कांग्रेसको चेतावनी

सुर्खेत: नेपाली कांग्रेसले कर्णालीमा सरकार छोड्ने चेतावनी दिएको छ । विगतका सहमति कार्यान्वयनमा सरकारले ध्यान नदिएको भन्दै सत्तारुढ दल कांग्रेसले मुख्यमन्त्री यामलाल कँडेललाई सरकारबाट बाहिरिने चेतावनी दिएको हो ।

सोमवारदेखि सुरु भएको कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा कांग्रेस संसदस्य दलका नेता जीवनबहादुर शाहीले तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकारसँग भएका आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे पाँच दिनभित्र जानकारी नगराइए कांग्रेसले सरकार छोड्ने चेतावनी दिएका हुन् ।

शाहीले आठ बुँदे सहमति कार्यान्वयन नभएको बताउँदै तत्काल कार्यान्वयनको अवस्था सार्वजनिक गर्न पाँच दिनको समय दिएका छन् । ‘यसै साताभित्र आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाका बारेमा जानकारी दिन माग गर्दछु,’ संसदीय दलका नेता शाहीले भने, ‘यदि कार्यान्वयन नभएको पाइए पवित्र गठबन्धन गर्नेहरू बस्नुहोला हामी सरकारबाट बाहिर बस्नेछौँ ।’

गत असार १७ गते भएको सहमतिअनुसार व्यक्तिको नाम, निजी फर्महरूको नामसहित आएको बजेट कार्यान्वयन नगर्ने, क्रमागत र बहुवर्षीय आयोजनाहरूको प्राथमिकता निर्धारण गरेर निर्माण कार्यलाई अघि बढाउने, कृषि, सशर्त, क्रमागत र मर्मत तर्फबाहेक अन्य निर्माणको हकमा १५ लाख र भवन तथा सडक निर्माणतर्फ ३० लाखभन्दा मुनिका योजनाहरू कार्यान्वयन नगर्ने, समपूरक, विशेष र सशर्त अनुदानतर्फ विधि प्रक्रिया पूरा गरी आएका तर छुट भएका पालिकालाई बजेटमा समावेश गर्ने सम्झौता भएका थिए । उक्त सम्झौता आफ्नै पार्टीसमेत सहभागी भएको सरकारले कार्यान्वयन नगरेपछि शाहीले संसद्मा आक्रोश मात्रै पोखेका होइनन्, सरकारबाटै बाहिरिने तयारी पनि गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया