काठमाडौँ। अमेरिकाले आफ्नो देशको आकाशमा पुगेको चिनियाँ बेलुनलाई खसालिदिएको छ। यसअघि उक्त चिनियाँ बेलुनले सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको थियो।
उक्त चिनियाँ बेलुनलाई अमेरिकाले लडाकु विमान प्रयोग गरेको समुद्री क्षेत्रमा खसालेको समाचारमा जनाइएको छ। अमेरिकी रक्षा मन्त्रालयले जनाएअनुसार राष्ट्रपति बाइडनले साउथ क्यारोलाइनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बेलुनलाई गोली हानेर खसाइदिएकामा पाइलटहरूलाई बधाई दिएका छन्।
पेन्टागनले उक्त कारबाही वैधानिक भएको बताएको बीबीसीले उल्लेख गरेको छ। तर, चीनले भने उक्त बेलुन मौसम अवलोकनका लागि छाडिएको र बाटो बिराएको बताउँदै आएको थियो। अमेरिकाले बेलुनलाई खसालेकामा चीनले असन्तुष्टि जनाएको छ।
अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सञ्चारमाध्यमलाई त्यसको भग्नावशेष मटल बीच, साउथ क्यारोलाइना नजिकै ४७ फिट गहिरो पानीमा खसेको जानकारी दिएको छ । उक्त बेलुनको भग्नावशेष संकलनका लागि दुई वटा नौसैनिक पानी जहाज र एउटा क्रेन परिचालन गरिएको समाचारमा जनाइएको छ।



सञ्चारपथ । २२ माघ २०७९, आईतवार ०६:३३