टोकियो। जापानमा सहमतिमा यौनसम्बन्धका लागि उमेर हद बढाउने तयारी गरिएको छ। यसअघि कायम रहेको १३ वर्षको उमेर हदलाई बढाएर १६ वर्ष बनाउन लागिएको हो।
देशमा यौन अपराधमा रोक लगाउनका लागि नियममा परिवर्तन गर्न लागिएको बीबीसीले जनाएको छ। सन् २०१९ मा उमेरकै कारण धेरै दोषीहरूले सफाइ पाएपछि त्यसको व्यापक विरोध भएको थियो। नयाँ प्रस्तावमा बलात्कारको परिभाषालाई विस्तार गर्ने र नाबालिगको मामिलामा थप कडा नियम ल्याउने बताइएको छ।
त्यस्तै, बलात्कारको मामिला उजुरी गर्ने समय सीमा १० वर्षदेखि बढाएर १५ वर्ष बनाइने भएको छ। हाल विकसित देशमध्ये सहमति यौन सम्बन्ध कायम गर्ने उमेर जापानमा सबैभन्दा कम छ। जर्मनी र इटालीमा यो उमेर हद १४ वर्ष रहेको छ भने ग्रीस र फ्रान्समा यो उमेर १५ वर्ष रहेको छ । अमेरिकामा र बेलायतमा यो उमेर हद १६ वर्ष रहेको छ ।


सञ्चारपथ । १० फाल्गुन २०७९, बुधबार ०६:५१