प्रविधिको उच्चतम् प्रयोग भइरहेको वर्तमान परिवेशमा मिडिया मानव जीवनको एक अभिन्न अंग जस्तै बनिरहेको छ । अझ पछिल्लो समय अनलाइन पत्रकारीताले पल–पलमा सुचना प्रवाह गरिरहने र निकायहरुलाई जिम्मेवारी बनाउने भएकाले अहिले मानिसको जीवनशैलीझैँँ बनाइदिएको छ ।
अहिले देशमा सामाजिक, आर्थिक र राजनीतिक घटनाक्रम घटिरहेका छन् । जुन एक अर्काका परिपुरक हुन् । हजारौँको भिडमा लक्ष्यसहितको व्यवसायिक यात्रालाई आत्मसाथ गर्दै व्यवसायिक, मर्यादित प्रयासस्वरुप सम्पुर्ण आम नेपाली आमाबुबा, दाजुभाई दिदिबहिनको यात्रामा सहयात्री बन्ने उद्देश्यसहित ‘सञ्चारपथ’ डटकम लिएर तपाईसमक्ष आएका छौँ ।
विशेष गरी कर्णाली भित्रका बेथितिको निगरानी, आवाज विहीनहरुको आवाज हाम्रो पहिलो प्राथमिकताका विषय रहने छन् । पत्रकारीता सुचना सञ्जालको खानी र अविरल यात्रा हो । यसर्थ हामी फिचर स्टोरी, अन्तवार्ता, विचार स्तम्भलाई प्राथमिकता दिनेछौँ । दिगो विकास, सुशासन, पारदर्शीाता र भ्रष्टाचारविरुद्ध निरन्तर पैरवी गर्ने कुरामा हामी अडिग भएर लाग्ने संकल्प लिएका छौँ ।
रोग, भोग, गरिबी र अभावसँग जुधिरहेको कर्णालीमा भने सबै मानिसहरु सञ्चारको पहुँचमा छैनन । यद्यपी परिस्थिति भने केही फरक बन्दै गएको छ । बढ्दो शहरीकरण तथा ग्रामिक भेगमा पनि सञ्चारको विकास गर्ने सरकारी नीति अनुरुप ग्रामिण क्षेत्रका नागरिक समेत ईन्टरनेटको पहुँचमा आईरहेको छन् । हामीले आम नागरिकलाई सहज रुपमा अनलाइन समाचारको माध्यमबाट सुशुचित गराउने छौँ । हाम्रो उद्देश्य एउटै हो— स्वच्छ पत्रकारीता ।
संघीय शासन व्यवस्थालाई सफल बनाउन इमानदारीता र पादर्शीताका साथ काम गर्नुपर्छ भन्ने पक्षमा हामी दृढ छौँ नै । त्यसैले हामी हाम्रा सामग्रीलाई विश्वसनिय, विश्लेषणात्मक र तथ्यपरक बनाउने कुरामा संवेदनशिल भएर अघि बढ्ने प्रतिबद्धता गर्दछौँ । स्थानीय सरकार, प्रदेश सरकार एवम् राज्य संयन्त्रका सबै पक्ष समक्ष आम नागरिकको आवाज पु¥याउनेमा हाम्रो लक्ष्य हो ।
हाम्राे अभियानलाई सफल बनाउन सबैभन्दा ठुलो प्रेरणाको स्रोत तपाई पाठक हुनुहुन्छ । यहाँहरुकै आलोचनात्मक, रचनात्मक सल्लाह–सुझावले हामीलाई थप दृढ भएर अग्रसर हुन् उत्साहित बनाउनेमा आशावादी छौँ ।
नयाँ बर्ष २०८० सालको शुभकामना ।
हृदय रिमाल
अध्यक्ष, चौघान मिडिया प्रा.ली


सञ्चारपथ । १ बैशाख २०८०, शुक्रबार ०१:५०