सम्बन्धनको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त

 

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय केहीदिन यता विवादले तनावग्रस्त बनिरहेको छ । सम्बन्धनको विषयलाई लिएर विद्यार्थी संगठन र उपकुलपतिबिचको विवाद उत्कर्षमा पुगेको हो ।

विद्यार्थीहरुले उपकुलपतिलाई विश्वविद्यालयलाई निजीकरण गर्न खोजेको आरोप लगाइरहेका छन् । केही दिन अघिमात्रै विश्वविद्यालयले निजी कलेजलाई समेत सम्बन्धन दिने गरी विज्ञापन प्रकाशित गरिएको थियो ।

त्यही विषयलाई लिएर विश्वविपद्यालयमा तालाबन्दी गर्नेदेखि उपकुलपति प्रा.डा नन्दबहादुर सिंहको निवासमा समेत विद्यार्थी नेताहरुले धर्ना दिइरहेका छन् । सिंहले भने आफुले ऐन नियममै भएको व्यवस्थामा टेकेर सम्बन्धनको विज्ञापन खुलाइएको दाबी गरिरहेका छन् ।

सम्बन्धन दिने विषयमा केही क्राइट एरिया रहेको र त्यसैको जगमा टेकेर सम्बन्धन दिइने उनको भनाइ छ । विश्वविद्यालयमा यस्तो खालको धर्ना र विरोध कार्यक्रम यस पहिलापनि हुँदै आएका थिए । उपकुलपति सिंहले भने राजनीतिक दलहरुले आफ्ना संगठनलाई सम्भयता सिकाउनुपर्ने बताउँदै आएका छन् ।

शैक्षिक थलोमा कहिल्यै राँके जुलुस बाल्नेदेखि विश्वविद्यालयका कर्मचारी, प्रशासकमाथि भौतिक आक्रमणको प्रयास हुने गरेको भन्दै सिंहले त्यसको निन्दा गरेका छन् ।
सिंहले आफु कर्णालीकै भएकाले कर्णालीको शैक्षिक उन्नतिकै लागि भनेर आफु कर्णालीमा आएर काम गरेपनि त्यसको जस पाउनुको सट्टा विरोध नै विरोध भइरहेको भन्दै गुनासो पनि पोख्ने गरेका छन् ।

आफु पैसा कमाउनका लागि नभई विश्वविद्यालयको उन्नती र शैक्षिक हव बनाउने उद्देश्यसहित आएको बताउँदै सिंहले आफुलाई फेसबुके भिसी भनेर अपमान र तिरस्कार गरिरहेको प्रति खेद प्रकट गरिरहेका छन् । उनलाई विद्यार्थी नेताहरुले नै यस्ता खालका टिपप्णी गर्दै आएका छन् ।

सिंहले सम्पुर्ण राजनीतिक दलहरुलाई आफ्ना विद्यार्थी संगठनलाई सम्झाउन आग्रह मात्र गरेर सभ्य हुनुपर्ने तर्क गरे । सिंह मंगलबार दिनभर निवासबाट बाहिर निस्कनै सकेनन् । बाहिर निस्कँदा स्थिती असहज हुनेभएपनि उनी सहभागी हुने एक कार्यक्रममा समेत जान सकेनन ।

‘म विश्वविद्यालयमा आएदेखि भौतिक संरचनाहरुको परिवर्तनका साथै केही हदसम्म उचाईमा पु¥याउने प्रयास भएको छ तर, ती कामको मुल्यांकन हुँदैन,’ गुनासो पोख्दै उनले भने,‘ ठुलो मात्रको बेरुजुलाई शुन्यमा झार्ने अन्तिम प्रयासमा छु, यो काम कसैले देख्दैन । केवल राजनीतिक दल र केही व्यक्तिको आडमा रहेर विद्यार्थीहरुले आन्दोलन गर्ने र विवाद गराउने काम भइरहेको छ ।’

सिंहले विद्यार्थीलाई उचाल्ने काम प्राइभेट क्याम्पस चलाएका र मध्यपश्चिम विश्वविद्यालयमा पढाइरहेका केही प्राध्यापकहरुले गरिरहेको बताए । यतिमात्र होइन् तीनै व्यक्तिले विश्वविद्यालयमा कुलपछि एवं प्रधानमन्त्री प्रचण्ड कहाँ पुगेर नै आफुविरुद्ध कुरा लगाउने कामहरु भइरहेको बताए ।

राम्रो काम गर्दागर्दै पनि आफुलाई बदनाम बनाउने कामहरु भइरहेको भन्दै सिंहले आफुले कुनैपनि हालतमा विश्वविद्यालयलाई निजिकरण गर्न नखोजेको प्रष्ट पारे । ‘यदि विश्वविद्यालयको हतहित विरुद्धमा म गएको छु भने अख्तियारदेखि सबै बसेर छलफल गरौँ मैले के गल्ति गरेको छु, भोग्न तयार छु,’ उनले भने,‘ होइन् भने विद्यार्थी उचाल्ने, अपशब्द बोल्ने, अराजकता देखाउनेदेखि धम्क्याउने काम गर्न बन्द गर्नुहोस् ।’

विद्यार्थी संगठनहरु भने निजी विद्यालयलाई सम्बन्धन दिने विषयबाट उपकुलपति पछि नहटे आन्दोलन जारी राख्ने पक्षमा छन् ।

 

तपाईको प्रतिक्रिया