सन् १८१८ मा कार्ल मार्क्सको जन्म जर्मनीको झापर सहरमा भएको थियो । बोन युनिभर्सिटीमा कानून पढेपछि उनी बर्लिन विश्वविद्यालय गए । त्यहाँ उनले दर्शन र इतिहास अध्ययन गरे । १८४२ मा उनले पत्रकारिता सुरु गरे। उनले एउटा समाचार पत्रमा सम्पादकका रुपमा पनि काम गरे ।
सन् १८४० मा मार्क्सले आफ्ना साथी फ्रेडरिक एंगेल्ससँग मिलेर होली फेमिली नामक पुस्तक लेखे। सन् १८४४ मा उनले कम्युनिष्ट घोषणापत्र लेखे । समाजबादको जनक मानिनिने मार्क्सले दास क्यापिटल लेखेर प्रकाशनमा ल्याए । यसको दोस्रो भाग लेख्ने क्रममा उनको निधन भयो । पछि फ्रेडरिक एंगेल्सले त्यसको दोस्रो भाग पूरा गरे ।
कार्ल मार्क्सको मृत्यु पछि रुसमा सन् १९१७ मा क्रान्ति भएको थियो । मार्क्सको विचारबाट प्रभावित भएर यो क्रान्तिका नायक लेनिनले रुसमा ३०० वर्ष पुरानो जार शासन फ्याले । त्यस पछि मार्क्सको बिचारबाट प्रभावित भएर धेरै देस कम्युनिस्ट भए ।
मार्क्सले भनेका थिए- कृषि, मेसिन, उद्योग आदि उत्पादनका सबै साधनहरूमा मालिकको पूर्ण अधिकार छ जबकि उत्पादनमा कडा परिश्रम मजदुरहरुले गर्छन् । यद्यपि उनिहरुले त्यो सम्पत्तिबाट कुनै हिस्सा पाउँदैनन् । मालिकहरु आफ्ना लागि बढि भन्दा बढि मुनाफा मात्र चाहन्छन् । बर्ग सघर्षको प्रमुख कारण यहि हो ।
इतिहास र सिद्धान्त
माक्र्सवाद अन्य सैद्धान्तिक अवधारणाभन्दा ऐतिहासिक उत्खननका कारण भिन्न छ । जसलाई हामी माक्र्सवाद भन्छौँ, त्यो कल्पनामा होइन, ऐतिहासिक सत्यतथ्यमा आधारित छ । मार्क्स भन्छन्, ‘मान्छेले आफ्नो इतिहास आफैँ बनाउँछ, कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन ।
त्यो इतिहास वर्गीय शोषण कुन चरणबाट गुज्रिँदै छ भन्ने कुरामा भर पर्छ । साधारणतया ‘उत्पादन पद्धति’, आर्थिक शक्ति र सम्बन्ध तथा उनीहरूबीचको अन्तरविरोध आदिले निर्माण गर्ने वर्ग र समाजमा कसको कस्तो निर्णायक भूमिका रहन्छ भन्ने निर्धारण गर्छ । ऐतिहासिक निर्धारण आर्थिक तथा प्राविधिक विषयले ऐतिहासिक रूपान्तरण गर्नमा तिनको भूमिका, राजनीतिले निर्धारण गर्ने आर्थिक नीति र संस्थागत परिचालनले शोषणका ऐतिहासिकता कस्तो भन्ने तय गर्छ ।
इतिहासका सबै मोडहरूलाई हेरेर नै मार्क्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा ‘अहिले अस्तित्वमा रहेको समाज इतिहासमा भएका अनेक वर्गसंघर्षको उपज’ भने । यो वाक्यले नै माक्र्सले खिचेको क्रान्तिकारी राजनीतिक कार्यक्रमको विचारको खाका प्रस्तुत हुन्छ ।
यही सोचले श्रमजीवी मानिसहरूको आत्म स्वभिमान जगाउने संघर्ष मात्र होइन, सबै प्रकारका शोषण र उत्पीडनबाट मुक्त हुनका लागि संघर्ष गर्न उक्साउँछ । पुँजीवादी आर्थिक तथा सामाजिक विकासमा उत्पादन सम्बन्ध र उत्पादन प्रकृयाको ऐतिहासिकताका आधारमा समाजलाई हेर्ने बुझ्ने क्रममा मार्क्सले शास्त्रीय अर्थशास्त्रको चिरफार गरे ।
त्यो चिरफार र आलोचनाको ऐतिहासिक विवेचनाको सैद्धान्तिक जग मार्क्सकै ‘गु्रन्डरिसे’मा उल्लेख गरिएको पाइन्छ । जो सन् १९७० को दशकममा मात्र अङ्ग्रेजीमा प्रकाशित भयो । मार्क्सले एउट बुद्धिजीवीले गर्ने विश्व व्यवस्थाको ऐतिहासिकताको व्याख्या मात्र पस्किएनन् यसलाई कसरी बदल्न सकिन्छ भन्ने कुरामा आफ्नो ध्यान बढी केन्द्रित गरे ।
बुर्जुवा क्रान्तिका पक्षधरले यो ऐतिहासिकताका आधारमा हेर्ने दृष्किोणको ठूलो विरोध गरेका छन् । उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन प्रक्रिया तथा उत्पादन सम्बन्धको आधारको समाजको व्याख्याको विकल्पमा म्याक्स वैवरले ‘पुँजीवादी समाज र त्यसका क्रियाकलाप बुझ्न सीमान्त उपयोगिताको सिद्धान्तलाई’ प्रारम्भिक औजारका रूपमा प्रयोग गरे । वर्गको व्याख्यालाई उनले राजनीतिक मुद्दाबाट विशुद्ध ‘आर्थिक श्रेणी’मा ओराले । अहिलेसम्मका पुँजीवादी समाजशास्त्रीहरू वैवरकै धरातलमा उभिएर माक्र्सवादको विरोध गर्ने गर्छन् ।
मार्क्सको ‘हिस्टोरिकल म्याटेरियालिजम’ माक्र्सवाद मान्ने र नमान्ने दुवैथरी गम्भीर अध्येताहरूले राम्ररी बुझेका छन् र समर्थन र विरोधमा व्याख्या पस्किएका छन् । जस्तो लेनिन, रोजा, ग्राम्सी र चे ग्वेभारा आदि तीमध्ये प्रमुख हुन् । तर, कतिपय व्याख्या अधुरा र अपुरा रहेको भनाइहरू पनि आइरहेका छन् । क्यापिटलको पहिलो भोलुम छापिएपछि मार्क्सको देहान्त हुन पुग्यो ।
उनका नोटबुक र तत्काल उपलब्ध सामग्रीका आधारमा एंगेल्सले ‘क्यापिटल’को भाग २ र ३ प्रकाशमा ल्याए । यतिवेलासम्म पुँजीका ६ वटा भाग खासगरी जमिन (ल्यान्डेड प्रोपर्टी), ज्यालादारी मजदुरी, वैदेशिक व्यापार, विश्व बजार र संकटमा आधारित ६ भाग प्रकाशित छन् । पछिल्लो एक दशकयता ‘मार्क्स–एंगेल्स संकलनमाला (मेगा)’ गठन गरेर सबै सामग्री खोज्दा राजनीतिक अर्थशास्त्रका १५ वटा भोलुम तयार हुने कुरा प्रकाशमा आएको छ ।
मेगाले विश्व इतिहासको क्रोनोलोजी मात्रै १५ सय पृष्ठ भेटिएको जनाइएको छ । त्यतिवेलाका मार्क्सका साथीभाइ, इष्टमित्र र सामग्रीको तीव्रतासाथ खोजी भइरहेको छ । झन्डै २ सयका हाराहारीमा रहेका डायरी जुन समाज विज्ञान, इतिहास, मानवशास्त्र, प्रकृति विज्ञान र म्याथम्याटिक्ससँग जोडिएका भेटिएको दाबी गरिएको छ ।
यिनले विगतमा अधुराअपूरा रहेका कृति पूरा गर्न, कम व्याख्या भएका र अस्पष्टतालाई प्रस्ट बनाउन र व्यवस्थित गर्न सजिलो हुने जनाइएको छ (हेर्नुहोस्, जोन वेलामी फोस्टरद्वारा लिखित ‘माक्र्स ओपेन इन्डिड क्रिटिक’ मोन्थ्ली रिभ्यू, १ मे २०१८) । यसको अर्थ मार्क्सवाद अपुरो थियो अब पूरा हुने भन्ने अर्थ कदापि होइन । माक्र्सले आफ्नो जमानाको आर्थिक सामाजिक धरातलमा उभिएर गरेका खोज तथा अनुसन्धानले उनका त्यसवेला गरेका तर्कहरूलाई पुष्टि गर्न थप मद्दत पुग्नेछ ।
मार्क्सवादीमा आएको उतारचढाव
मार्क्सवाद ऐतिहासिक वर्ग संघर्षलाई अध्ययन गर्ने विधि हो । विज्ञानप्रविधिको विकासले ल्याउने परिवर्तन अर्को अर्थमा हरेक औद्योगिक क्रान्तिले ल्याउने परिवर्तन, हरेक परिवर्तनभित्र विकसित हुने कामदार शक्ति कसरी निर्माण हुन्छ, त्यो कामदार शक्ति कसरी प्रशिक्षित हुन्छ र कस्ता बाहक वा संगठकले तिनलाई डो-याउँछन् भन्ने कुराले कस्तो वर्ग बन्छ र कस्तो संघर्ष हुन्छ वा हुने सम्भावना रहन्छ भन्ने निर्धारण गर्छ ।
आर्थिक–सामाजिक परिस्थिति, श्रमजीवि शक्तिको प्रशिक्षण, राज्यको नीतिले निर्धारण गर्ने वर्ग संघर्ष र क्रान्तिपछिको रूपान्तरण प्रक्रिया यो अध्ययनसँग जोडिने महत्त्वपूर्ण कडी हुन् । त्यसैले सिद्धान्ततः मार्क्सवाद वादविवाद वा बहस (डाइलेक्टिक), भौतिकवाद (म्याटेरियालिजम), र इतिहास (हिस्ट्री) सम्मिश्रण हो ।
त्यसैले ठीकठीक विश्लेषण गर्न र एक्सनमा उत्रन त्यति सजिलो छैन त्यसैले माक्र्सको एउटा प्रसिद्ध भनाइ छ, ‘विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुँदैन’ । ‘मार्क्सवाद’, बाइबल, कुरान, वा गीता होइन, जसलाई कण्ठस्थ गरेर कथित ‘मुक्ति’ प्राप्त होस् । आजसम्म जेजति समाजवादी क्रान्ति सम्पन्न भए मार्क्सवादी विधिअनुरूप आफ्नो वर्गसंघर्षको इतिहास, तत्कालीन समाजको आर्थिक सामाजिक संरचना, तत्कालीन राज्यको प्रकृति र प्रवृत्ति, समाजमा विद्यमान वर्गसंघर्ष आदिलाई गहिरोसँग केलाएर बहुमत मानिसलाई संगठित संघर्षमा होम्दै सफलता चुमे ।
मार्क्सवादी अध्ययन विधिकै कारण पछिल्ला मार्क्सवादीहरू ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरेर क्रान्तिलाई डो-याए । रुसको अक्टोबर क्रान्ति, चिनियाँ जनक्रान्ति वा क्युबाली क्रान्ति सबै आ–आफ्ना परिवेशमा आ–आफ्ना व्याख्या र विश्लेषणका आधारमा सम्पन्न भएका थिए । ती सबैको संघर्षको प्रकृति भिन्नाभिन्नै थियो ।
परिस्थिति र श्रमजीवी सर्वहारा वर्गको सामाजिक र सांस्कृतिक अवस्था भिन्नाभिन्नै थियो । समाजवाद कसरी लागू गर्ने भन्ने विषय कार्यक्रम पनि स्वाभाविक रूपमा फरक–फरक थिए । किनकि पूर्णरूपमा विकसित पुँजीवादी समाजको रूपान्तरण र अर्को पछौटे कृषि प्रधान देशको रूपान्तरण कपी गर्न मिल्दैनथ्यो । ज–जसले नीति निर्माण, कार्यक्रम र विचार हुबहु सार्न कोसिस गरे ती नराम्रोसँग पछारिए । जसले आफ्नो समाज विश्लेषण धरातलीय यथार्थमा रहेर राम्ररी केलाएर अगाडि बढे तिनीहरू सफल भए ।
केही नवउदारवादी पुँजीवादी पक्षधर विद्वानहरूले सोभियत सङ्घ तथा पूर्वी युरोपको विघटनपछि इतिहासको समाप्तिको घोषणा गरे । यसको अर्थ पुँजीवादको विकल्पमा रहेको समाजवादको अन्त्य र सँगसँगै मार्क्सवादको अन्त्य भएको घोषणा गर्ने कसरत थियो त्यो । कसैकसैले मार्क्सवाद विज्ञान र प्रविधिमैत्री नभएको घोषणा पनि गरिदिए । कसैकसैले पुँजीमैत्री नभएकाले विकासमैत्री नभएको आरोप लगाउन चुकेनन् ।
तर, तिनले समग्रतामा के बुझेनन् भने यदि समाजवादले खोजेजस्तो सम्पत्तिको वितरण र पुनर्वितरण अवरुद्ध भयो भने आममानिस उत्पादन र उत्पादनका साधनबाट वञ्चित हुन्छन्, त्यसको अर्थ पुँजी सञ्चिति तथा पुँजी निर्माणसमेत अवरुद्ध हुन्छ । यसको अर्थ सम्पूर्ण वस्तु तथा सेवाको उत्पादन र पुनर्उत्पादनमा नकारात्मक असर पर्छ । त्यसले सम्पूर्ण अर्थतन्त्रमा मात्र होइन, सामाजिक संकट खडा हुन पुग्छ । दोस्रो विज्ञान र प्रविधिको विकास भनेको केही मुट्ठीभर व्यक्तिको धन सञ्चयका लागि कि आमजनताको सन्तुष्टिका लागि ?
मानव निर्मित वैज्ञानिक सिर्जना र प्रविधि विकास उपलब्धि मानव विकासका लागि धन आर्जन गर्ने साधन मात्र ? पुँजीवादीहरू मानवतावादलाई नकार्दै विज्ञान र विकासको निजत्वकरणमा लिप्त हुन्छन् । मार्क्सवाद निजत्वकरणको खिलाप थियो र छ । सम्पूर्ण उपलब्धि समाजका सम्पुर्ण मानिसको जीवन पद्धतिमा सुधार गर्न, सहज बनाउन लक्षित हुनुपर्छ भन्ने थियो ।
आजसम्मका सबै वैज्ञानिक आविष्कार र विकास व्यक्तिगत निजी सम्पत्ति आर्जनका लागि नभएर समाजकल्याणका खातिर भएका हुन् भन्ने बुझ्न पुँजीवादीहरूले चाहेनन् (हेर्नुहोस् अल्वर्ट आइन्स्टाइन लिखित ‘ह्वाई सोसिलिजम’ अझै पनि मन्थ्ली रिभ्यू अनलाइनमा पढ्न सकिन्छ) ।
मार्क्सवाद अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन योजनाको पोको थिएन भन्ने पनि पुँजीवादीसँगै कथित मार्क्सवादीहरूले पनि बुझेनन् वा बुझ्न चाहेनन् । त्यसैले केही मार्क्सवादीहरूले शासनसत्ता हुँदा गरेका सतही घोषणा, सतही क्रियाकलाप तथा विकृत रूपान्तरणलाई मार्क्सवादसँग जोडेर हेरे । वास्तवमा ती केही मार्क्सलाई बदनाम गर्न चाहने पुँजीवादी र तिनका हिमायतीहरूको औजारजस्तै बन्न पुगे ।
पुँजीवादीहरूलाई एक प्रकारले औडाहा भएको थियो । मार्क्सवादप्रति तिनको ईष्र्या चुलिँदै गएको थियो । मार्क्सवादलाई सिराने हालेर गरिएका २०औँ शताब्दीभरिका क्रान्तिले गरिब, सर्वहारालाई सशक्तीकरण गरेर जमिन तथा फ्याक्ट्रीको मालिक बनाएको थियो । राष्ट्रिय राज्यको निर्माण गर्दै स्वतन्त्र सार्वभौम सत्तासम्पन्न जनताका अधिकारका नाममा साम्राज्यवादविरुद्ध स्वाधीन संघर्ष सञ्चालन गर्न हौस्याएको थियो ।
शिक्षा, स्वास्थ्य रोजगारीमा आमजनताको पहुँच पु-याउन र राज्यको दायित्वको पहिचान बढाउन माक्र्सवाद औजार बन्न पुगेको थियो । दासका रूपमा भित्र्याएका काला जाति र सम्पूर्ण महिलाहरूलाई मतदान दिने आधार मार्क्सवादका नाममा भएका क्रान्तिको अगुवाइमा भएका थिए ।
त्यसले मुट्ठीभर सामन्त तथा पुँजीवादीहरूमा खुम्चिएको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार आमजनताको पहुँचमा पु-याउन अहम् भूमिका खेलेको थियो । पुँजीवादीहरू समाजवादको नामबाट तर्सिनुपर्ने, झोँक्किनुपर्ने, यिनै कारण थिए । समाजवाद समापन हेर्न पुँजीवादीहरू सधैँ मौकाको खोजीमा थिए, छन् र भोलि पनि रहनेछन् ।
मार्क्सवाद माथि उल्लेख गरिएझैँ बहस–वादविवाद, भौतिकवाद र वर्ग संघर्षको समष्टि हो । क्रान्तिपछि जानी–नजानी राज्य पुँजीवादमा लैजानेहरूले बहस र वादविवादलाई प्रतिबन्ध लगाए । यसले भौतिक वस्तु उत्पादनको विकास त सम्भव भयो, तर समाजको सामाजिक रूपान्तरण प्रक्रिया अवरुद्ध हुन पुग्यो । डाइलेक्टिकको अभावमा राज्यमा ब्युरोक्रेसी हाबी हुन पुग्यो ।
डाइलेक्टिक (वादविवाद–बहस)को अभावमा जनवाद मलिन हुन पुग्यो र वर्ग संघर्ष झन् भुत्ते हुन पुग्यो । यसरी समाजवादका नाममा हुर्किएको राज्य पुँजीवाद ढल्नुथ्यो, ढल्यो । त्यो शासन पद्धति जनताको पक्षमा नभएकाले जनताले काँध थापेनन् र अवसान भयो । पुँजीवादीहरूले मार्क्सवाद मरेको प्रचार गरे ।
पूर्वी युरोप र सोभियत संघको विघटनपछि पुँजीवादमा एकपछि अर्को संकट देखा परे । सन् १९९७/९८ को पूर्वी एसियाली वित्तीय संकट, १९९८/९९ को रुस तथा मेक्सिको संकट, सन् २००२ को अर्जेन्टिनी संकट, यी शृंखलाबद्ध संकटहरू एक–अर्कामा गाँसिदै गाँसिदै आइनै रहेका वेला संयुक्त राज्य अमेरिकाका बैङ्कहरूले वित्तीय संकट निम्त्याए र त्यसले निम्त्यायो संसारव्यापी मन्दी ।
पुँजीवादी अर्थशास्त्री तथा नीतिनिर्माताहरू एक दशकदेखि छताछुल्ल हुन पुगेको पुँजीवादका अवयवहरू बटुलेर टालटुल गर्नमा व्यस्त छन्, तर समाजवादी अर्थशास्त्रीहरू भनिरहेछन्, पुँजीवादमा प्रणालीगत संकट –सिस्टमिक क्राइसिस) आइसकेकोले अब प्रणाली नै फेर्नुपर्छ र विकल्प भनेको समाजवाद नै हो । तर, समाजवादले पुराना गल्तीहरू दोहो-याउनुहुन्न ।
अघिल्लै शताब्दीको अन्तिम वर्षहरूमा नवउदारवादी पुँजीवादविरुद्ध ठुल्ठूला संघर्षहरू भए । समग्र ल्याटिन अमेरिका समाजवादमय बन्न पुग्यो । बोलिभारान क्रान्तिका नाममा ह्युगो चाभेजले दार्शनिक स्तेभान मेस्जारोसको भिजनमा आधारित रहेर २१औँ शताब्दीको समाजवादी कार्यक्रमलाई अगाडि सारे ।
अमेरिकी साम्राज्यवादको नाकैमुनि बोलेभिया, इक्वेडर, अर्जेन्टिना, ब्राजिल, उरुग्वेका श्रमजीवी कामदारहरूको जीवनस्तर ठूलो फड्को मार्ने गरी समाजवादी पार्टीहरू निर्वाचनमार्फत सत्तामा पुगे । कोही सफल देखिए कोही असफल । यद्यपि यो पुनर्जागरणले ल्याटिन अमेरिकामा सशक्त विकल्प प्रस्तुत गरेको छ ।
सन् २००७ देखि २०१० को अवधिमा पूर्वी र पश्चिमी युरोपमा समाजवादको नयाँ जागरण सुरु भएको छ । मार्क्सवादको गम्भीर अध्ययन सुरु भएको छ । पुँजीवादको स्वरूप र विस्तारका बारेमा लेनिन (इम्पेरियालिजम अ हाइअर स्टेज अफ क्यापिटालिज्म), रोजा लक्जेम्बर्ग (क्यापिटल एकुमुलेसन थ्यौरी), माइकल केलेस्की (जेनरल थ्यौरी र थ्यौरी अफ ग्रोथ एन्ड इम्लोइमेन्ट), जुवान रोविन्सन (थ्यौरी अफइम्पफेक्ट कम्पिटिसन), पौल बरान, पौल स्विजी, ह्यारी म्यागडफ (मोनोपोली क्यापिटालिज्म एन्ड स्ट्यागनेसन) आदि माथि गम्भीर बहस र छलफल चल्न थालेका कुरा हिजोआज प्रकाशित पुस्तक, जर्नल आर्टिकल तथा अखबारी लेखनहरूमा पाइन थालेकाले पुष्टि हुन्छ ।
ग्रिसेली अर्थशास्त्री कोस्तास लापाभिताससको ‘प्रोफिट विथआउट प्रोड्युसिङ’ नामक किताबले हामीकहाँ चलेको दलाल पुँजीवादको बहसको झल्को दिन्छ । उनले विस्तारमा त्यसको पछाडिको सैद्धान्तिक जरा केलाएका छन् । डेभिड हार्वे, फ्रेड मोस्ले, माइकल हेनरिचलगायत सयौँ समाजशास्त्री, अर्थशास्त्री तथा राजनीतिशास्त्रीहरू मार्क्सवादको विकासमा भिडेर लागिपरेका देखिन्छन् । हिजोआज पुँजीवादभित्रै दक्षिणपन्थी लोकप्रियतावाद झांगिरहेको छ ।
पुरानो उदारवादलाई नवउदारवादले खायो र नवउदारवादलाई दक्षिणपन्थी लोकप्रियतावादले । नवलोकप्रिय राष्ट्रवादीहरू पुँजीवादी भूमण्डलीकरणका विरुद्ध राष्ट्रवादी पुँजीवादको वकालत गरिरहेका छन् र त्यसका आडमा नश्लवाद, धर्मवाद, जातिवादलाई आड लिने गरेका छन् ।
तिनले फैलाउन सक्ने नरहिंसा, अन्याय, अत्याचार आततायी युद्धका विरुद्ध माक्र्सवादमा आधारित राजनीतिक सङ्गठनको निर्माणको विकल्पमा अरू केही देखिएको छैन । यस अर्थमा मार्क्सवाद अहिलेको संकटबाट माथि उठ्ने ठूलो वैचारिक विधि बन्ने सम्भावना प्रवल देखिएको छ ।
मार्क्सवादको विकास
माक्र्सवादलाई माथि भनिएझैँ धर्मशास्त्र बनाउने होइन । विधिसंगत ढङ्गले अध्ययनलाई अगाडि बढाउने हो । मार्क्सले भनेझैँ राष्ट्रभित्र रहेका स्रोतसाधहरू (जमिन, श्रमशक्ति, उद्योगधन्दा, पुँजी, वित्त) कसरी परिचालित भएका छन् ? कसरी कसले कसका हितमा उपयोग र दोहन गरिरहेका छन् यसको विधिवत् अध्ययन आवश्यक छ । विगतमा ‘डाइलेक्टिक्सको’ जसरी हत्या हुन पुग्यो अबका दिनमा त्यसो हुन नदिन पुनर्जीवन कसरी दिने, बहस छलफललाई कसरी सङ्गठनको जीवन बनाउने ?
कसरी वर्गसंघर्षलाई क्रान्तिपछि पनि जीवन्त तुल्याउने ? यसको खोजी हुन जरुरी छ । नेपालमा मात्रै होइन, संसारभर, संघर्षको कसरी पहिचान गर्ने भन्ने समस्या देखिएको छ । अमेरिका र युरोपमा काला जातिमाथि गरिएको भेदभाव र घृणा, मुस्लिममाथि फैलाइएका द्वेष, नेपाल, भारत जस्ता देशमा दलित, जनजातिमाथि गरिएका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक भेद र अन्य सीमान्तकृत जनसमुदायलाई गरिएका हिजोदेखिका भेदभावलाई कसरी हटाउने ?
कस्तो अभियानमार्फत, कस्तो आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत ? यी गम्भीर विषय हुन् । गफ र भाषणले मात्र समाजवाद आउँदैन । ठोस परिस्थितिको ठोस विश्लेषण, परिवर्तनका लागि ठोस योजना, योजना कार्यान्वयनका लागि नयाँ क्रियाशील र कामकाजी संस्थाहरूको व्यवस्थापन आवश्यक हुन्छ ।
नेपालमा वामपन्थीहरूलाई जनताले लहलहैमा लागेर त्यत्तिकै भोट दिएका होइनन्, आमूल परिवर्तनको आसमा दिएका हुन् । यदि उनीहरूलाई यी नाम मात्रका मार्क्सवादी हुन्, यिनले सुधार गर्दैनन् भन्ने लाग्यो भने काँधबाट तल खसालिदिन्छन् जसरी सोभियत सरकारको लास बोक्न कोही सडकमा ओर्लिएनन् ।
यो सामग्री विकीपिडीयाबाट लिइएको हो ।



सञ्चारपथ । २२ बैशाख २०८०, शुक्रबार १३:४४