हिमपहिरोमा बेपत्ता भएकाको खोजी कार्यका लागि २३ जना सुरक्षाकर्मीको टोली परिचालन

सुर्खेत । मुगुको हिमपहिरोमा परी बेपत्ता भएकाहरुको अझै खोजी कार्य हुन् सकिरहेको छैन । घटना भएको मंगलबार (आज)चार दिन भइसकेको छ । तर, अझै पनि हिमपहिरो गएको स्थानमा सुरक्षकर्मीको टोली पुग्न नसकेको हो ।

हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका छन् । उनीहरु यार्सा टिप्न भन्दै मुगुको च्यार्खु पाटन पुगेका थिए ।

जेठ ४ गतेबाट यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने भनिए पनि जुम्लाको पातारासीबाट १४ र मुगु छायानाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेका थियो ।

घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने हुन्छ । १५ जना मध्ये १२ जना सकुशल फर्किएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार निकै विकट क्षेत्र र जिल्ला सदरमुकामबाट निकै टाढा रहेकाले खोजी कार्यका लागि अझै केही दिन लाग्ने बताए । त्यहाँ सडक यातायातको पहुँच नै पुगेको छैन ।

उनका अनुसार घटना भएको शुक्रबार नै हो । तर, सनिबार बेलुका मात्र आफुहरुलाई जानकारी भएको थापाले बताए । आइतबार केही गर्न सकिएन ।
त्यसपछि प्रदेश सरकार र संघीय सरकारलाई बेपत्ताको खोजीकार्यका लागि पहल गरिदिन अनुरोध गरिएको थियो । बेपत्ताहरूको खोजी तथा उद्धारका लागि आइतबार बसेको कर्णाली प्रदेश सरकारको सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउने निर्णय गरेको थियो ।

आइतबार ढीला भएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टोर सोमबार बिहानै मुगु पुगेको थियो । थापाका अनुसार सोमबार (हिजो) हेलिकप्टोरले २३ जना सुरक्षाकर्मीको टोलीलाई मुगुकै सिरानचौर भन्ने ठाउँमा झारेको थियो ।

‘सुर्खेतबाट पठाएको हेलिकप्टोर घटना स्थलमा बस्न सक्ने स्थित छैन,’ प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ सिरानचौर भन्ने ठाउँमा हेलिकप्टोरले सुरक्षाकर्मी झा¥यो । त्यहाँबाट सुरक्षाकर्मीहरु अर्को ठाउँमा गएर क्याम्प खडा गरेर बसिरहेका छन् । क्याम्पबाट आज सुरक्षाकर्मीको टोली घटना स्थलमा जान्छन् ।’

थापाका अनुसार हेलिकप्टोर बसेको स्थानबाट घटनास्थल २७ किलोमिटर टाढा रहेको छ । बाटो पुरै हिउँले भरिएका कारण यात्रा गर्न समेत कठिन छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया