सुर्खेत । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णालीको रोदन सुन्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार बैठकको शून्य समयमा उनले जुम्लाको सिन्जा उपत्यका सबै हिसाबले धनी भए पनि राज्यको नजर नपुग्दा पिछडिएको बताइन्।
‘सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा खस राज्यको उत्पत्ति र नेपाली भाषाको उद्गमस्थलसमेतका दृष्टिले उत्तिकै महत्व राख्ने क्षेत्र हो धार्मिक तथा ऐतिहासिक पर्यटनका लागि आकर्षक गन्तव्य, भौगोलिक विविधतायुक्त मेरो प्रदेश प्रशस्त सम्भावना बोकेको छ तर किन पछाडि?,’ कठायतले सदनमार्फत सरकारसँग उनले प्रश्न गरिन्।
उच्च मूल्य प्राप्त हुने कृषि तथा जडिबुटीजन्य वस्तुको उत्पादनको केन्द्रको रुपमा परिचित र जलविद्युतका लागि अधिक सम्भावना भएको कर्णाली प्रदेश खनिज पदार्थहरुको भण्डार भए पनि सरकारले बेवास्ता गरेको उनको भनाइ छ।
प्रचार–प्रसारको अभावमा ओझेलमा परेको जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य सिन्जा पर्यटकको पर्खाइमा रहेको उनको भनाइ छ।
सरकारले कहिले हो यो उपत्यकाको भौतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य स्तरमा ध्यान दिने? कर्णालीबासीले परिवर्तनका लागि फेरि क्रान्ति गर्नुपर्ने हो? कहिले सुन्छ सरकारले कर्णालीको रोदन? सिन्जा साम्राज्यभित्रको इतिहास बचाउन सरकारले के गरिरहेको छ? भनेर कठायतले प्रश्न गरिन्।



सञ्चारपथ । २६ बैशाख २०८०, मंगलवार १०:२७