काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा उनलाई निवासबाट नै प्रहरीले पक्राउ गरेको हो ।
पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले चुच्चेपाटी स्थित निवासबाट पक्राउ गरेको थियो ।
शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् ।
खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।
यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।
यस्तै खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । न
प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ ।



सञ्चारपथ । २७ बैशाख २०८०, बुधबार ०४:५२