सुर्खेत । कर्णाली प्रदेश सरकारले आज १६ औँ गणतन्त्र दिवस मनाएको छ । वीरेन्द्रनगरको सिटी हलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका व्यक्तिहरुदेखि नागरिक अगुवा, प्रदेश प्रमुख, सभामुखसम्मको उपस्थित रहेको थियो ।
कार्यक्रममा विशेषगरी गणतन्त्रलाई बलियो बनाउनुपर्ने नेताहरुको धारणा रहेको थियो । प्रमुख नेताहरुले पुर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिँदै धेरै नकुर्लिन आग्रह गरेका थिए ।
पढ्नुहोस् कुन नेताले के–भने जस्ताको त्यस्तै
राजकुमार शर्मा, मुख्यमन्त्री
विभिन्न कारण अहिलेको व्यवस्था प्रति प्रश्न उठाउने कामहरु भइरहेको छ । गणतन्त्रमाथि प्रश्न उठाउनेहरुका वरीपरी पनि को छन् भन्ने हामीलाई राम्रोसँग थाह छ । त्यसलाई किटान गर्ने काम पनि आवाश्यकता अनुसार गर्दै जाने छौँ ।
म भन्न चाहन्छु गणतन्त्रको विकल्प पश्चगमन हुन सक्तैन, राजतन्त्र हुन सक्दैन बरु, समाजवाद हुन सक्ला । देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन् । जनताको लामो संघर्ष, महान जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनको तागदका कारण आएको हो । त्यसैले त्यो तागद र बलबाट लखेटिएकाहरुले फेरी डाँडो काट्नुपर्ने गरी नकुर्लिए हुन्छ । त्यो सपना नदेखे हुन्छ । डाँडो कटाउन नपरोस्, पाखातिर नै राम्रोसँग बसे हुन्छ । जनतालाई जिस्काउने काम कसैले गर्नुहुँदेन । इतिहासँसको निर्माता जनता हो, जनतालाई भ्रमित पार्न सकिन्छ कि भन्ने कुचेष्टा कसैले गर्न नहुने उनको भनाई छ । कर्णाली र समर्ग देशलाई आर्थिक समृद्धितर्फ लैजान एउटा संकल्प र एकता चाहिएको छ । जुन, गणतन्त्र दिवस मनाउनुको सार्थकता हुने छ ।
जीवनबहादुर शाही, कांग्रेस संसदीय दलका नेता
बाहिर गणतन्त्रप्रति वितृष्णा भइरहेको कुरा बजारमा आइरहेका छन् । तर, म त्यस्तो व्यक्ति हो, जुन ठाउँमा जसलाई हामीले मानेका थियौँ, उनीहरु आउँदा हेलिकप्टोर उडेर आउँग्थ्यो, त्यसले त्यहाँका जनतालाई धुलो खुवाएर जान्थ्यो । हामी खाली खुट्टामा बसिरहेका हुन्थ्यौँ । हामी बिहान कोदोको रोटी खान पाएका ती जनता हौँ, आज गणतन्त्र आइसकेपछि कुनैपनि जनता गरिब हौंला भिखारी छैनौँ । कोही पनि मान्छे खान नपाएर मरेको नेपालमा रेकर्ड छैन । गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन । प्रजातन्त्रको विकल्पमा श्री ३ हुन सक्देन । पछाडि फर्केर जाने हो भने श्री ५ बाट श्री ३ मा जानुपर्ने होला । यो कुुरामा सबैले ध्यान दिनुपर्ने हुन्छ । हिजो एउटा प्रधानपंचको विरुद्धमा बोल्यौँ भनेपनि जेलको कठघरामा जानुपथ्र्यो । आज हामी तीनै जनता हौँ, प्रधानमन्त्रीको फोटोमा कुकुरको फोहो राख्यो भनेपनि, मुख्यमन्त्रीको फोटोमा गधाको फोटो राख्यौँ भनेपनि हामी भन्ने गर्छौँ, यो त प्रजातन्त्र हो, गणतन्त्र हो । कसैलाई थुन्ने छेक्ने काम हुँदैन यो कुरालाई बुझ्न जरुरी छ । हिजो पोखरलामा सनिता–वितिता काण्ड हुँदा कहाँ थिए, (ज्ञानेन्द्र), तर, आज कसैले हाँच्छु ग¥यो भनेपनि इन्टरनेटमा माध्यमबाट संसारलाई पु¥याउन सक्छौँ । २००७ सालबाट अहिलेसम्म जे प्राप्ति भएको छ, त्यो लडेर, संघर्ष गरेर ल्याएको व्यवस्था हो, सबै पार्टीहरुको योगदान छ । ७० बर्ष लडेर ल्याएको गणतन्त्रको विकल्प राजतन्त्र भनेर भन्दा त्यो राम्रो हुँदेन । कुनै बेला सदनमा बोल्दा घोक्राएर ल्याई जेलमा कोचिएको थियो । आज सदनमा बोल्दा पनि योत प्रजातन्त्र हो भनेर सुन्ने गरेका छौँ । हिजो विपी, पुष्पलाल र पछिल्लो चरण प्रचण्डले यसरी आन्दोलन र संघर्ष नगरेको भए आज यो स्थितीमा हामी पुग्ने थिएनौँ । आज गणतन्त्र नआएको भए तिलक परियार जस्ता एउटा दलितका छोरा कर्णालीको प्रदेश प्रमुख हुने थिएनन । गणतन्त्र नआएको भए सभानुपातिक तमात महिला दिदिबहिनीहरु सांसद बन्ने थिएनन । हामीले झोवा विकजस्ता पढ्न नजान्ने महिलालाई सांसद बनायौँ । आज हामी अमेरिका भन्दा पनि प्रगतिशिल अवस्थामा छौँ । हिजो हामीले सुन्ने गरेका थियौँ, दरबारको चर्पीमा पनि टेलिभिजन हुन्छ भनेर तर, आज हाम्रा कोठा कोठामा, कुनाकुनामा टेलिभिजन छन् । विकास अमेरिका, सिंगापुरलाई पुगेको छैन नेपाललाई त कहाँबाट पुग्छ, म त्यही जिल्लाको मान्छे हूँ, संघीय मन्त्री हुँदा होस्, वा मुख्यमन्त्री बन्दा होस् आजपनि सडक सञ्जालसँग जोडिन सकिरहेको छैन । तरपनि आधाबाटो भएपनि गणतन्त्रले सडक त पु¥यायो । त्यस कारण लैलैको भाकामा जानु हुँदैन ।
यामलाल कँडेल, विपक्षी दलका नेता,
हिजो हामी जसरी गणतन्त्र प्राप्तिका लागि लडिरहेका थियौँ । आज फेरी गणतन्त्रमाथि प्रश्न उठिरहेको छ । एउटा व्यक्ति, एउटा पार्टी विशेषको गल्तिले हामीले प्राप्त गरेको गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । बहुदलिय व्यवस्थाको विकल्प निरंकुशतन्त्र हुन सक्तैन । विडम्वना हाम्रो देशमा सत्ता संघर्षका कारण जनतामात्र होइन पार्टीभित्र नै प्रश्न उठाउने खालको वातावरण बनिरहेको प्रति पनि चिन्ता व्यक्त हो । त्यो कुरा आज गणतन्त्र दिवसको अवसरमा ज्ञानेन्द्र शाहले नबुझेपनि हामी गणतन्त्रवादी पार्टीहरुले आफ्नो दिनचर्या बदल्न र सुधार्न जरुरी छ । सुध्रिएर अघि बढ्न सकेमात्रै गणतन्त्रलाई जनताको जीवनसँग संस्थागत गर्न सकिन्छ । यद्यपि अहिले जनतस्तरमा व्यवस्था जे सुकै होस् एउटा राजा हैन अहिले धेरै राजा भए भनेर जनताको सेवकका रुपमा नहेर्न गरेको पाइन्छ ।
यदि अहिलेको राजनीतिक परिदृष्टबाट वर्तमान राजनीतिक दलहरु नसच्चिए ज्ञानेन्द्र शाहजस्ता बेलाबखत आएर कहिले हिन्दु धर्मका नाममा त कहिले केका नाममा झुण्डहरुले हाम्रो देशलाई पछाडि धकल्नेछन् । उनले भारतको कुनै मुख्यमन्त्रीसँग लम्पसार परिरहेकै देखिन्छ । अहिलेका राजनिितक दलहरुले राम्रो काम गरिरहेका छैनन भन्ने लागेको छ भने ज्ञानेन्द्र शाहलाई बाकस थापेर जनताले पक्षमा आउने अग्रसर गरे । अहिले संविधान, व्यवस्थाप्रति खुलेआम चुनौती दिएर अगाडि बढ्नेहरु अघि बढीरहेको देखिन्छ । त्यसैले जिम्मेवारी पाएका व्यक्ति तपाईँको को अगाडि तपाईँलाई सम्बोधन गर्नुको साटो ज्ञानेन्द्र शाहलाई सम्बोधन गर्ने शब्द नआउने गरी काम अगाडि बढाउने कुरामा सबैको ध्यान दिन सक्यो भने मात्र समुन्नत राष्ट र प्रदेश निर्माण गर्न सक्छौँ । यतापट्टी सबैको ध्यान जाओस् ।



सञ्चारपथ । १५ जेष्ठ २०८०, सोमबार ०८:००