सुर्खेत । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गणतन्त्रको जगमा प्राप्त अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दे अघि बढनु आजको आवाश्यकता रहेको बताएका छन् ।
१६ औं गणतन्त्र दिवसको शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख परियारले यो अवसरमा बेपत्ता योद्धाहरुको उच्च सम्मान र घाइते अपाङ्ग योद्धाहरुको सम्मान एवं जेलमुक्तिको कामना गरेका छन् ।
झण्डै अढाइ सय बर्ष पुरानो हिन्दु एकात्मक सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य गरी गणतन्त्र,संघियता,धर्मनिरपेक्षता,समानुपातिक समावेशी सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन भएको अवगत उनले गराएका छन् ।
उनले भनेका छन्,‘ करोडौं नेपालीहरुको त्याग ,वलिदान र क्रिय सहभागीताबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न सात राजनैतिक दल र माओवादी विद्रोही विचको १२ बुँदे सहमति, वृहत शान्ति सम्झौताको आधारमा अन्तरिम संविधान, दुई–दुई पटक संविधानसभाको निर्वाचनबाट नेपाली जनताको अधिकार नेपालको संविधान–२०७२ ले संस्थागत गरेको छ । यी अधिकारको रक्षा,प्रयोग र थप विकास गर्दे अघि बढनु आजको आवश्यक्ता रहेको छ । यसका लागी हिमाल, पहाड,मधेश,तराई वीचको जनएकता र राष्ट्रिय सहमति कायम गरी अघि बढ्न यस दिवसले प्रेरित गरोस भन्ने अपेक्षा गर्दछु ।’
साथै परियारले नेपाली जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्धारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधिनता अझ सुदृढ गर्दै संबिधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने उर्जा मिलोस भन्ने शुभेच्छा पनि प्रकट गरेका छन् ।


सञ्चारपथ । १५ जेष्ठ २०८०, सोमबार ०२:२६