काठमाडौँ । लामो छलफलपछि अन्ततः समाजवादी मोर्चा आज घोषणा हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको थियो । सोमबार राजधानीको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानलाई पनि सहभागी गराउन छलफल जारी रहेको छ ।
समाजवादी मोर्चामा भट्टराईलाई पनि सहभागी गराउन नेपाल समाजवादी र माओवादी केन्द्र दुबैतर्फका नेताहरू जोडतोडका साथ लागेका छन् । यदि मोर्चामा भट्टराईलाई नसमेटिए माओवादीसँग एकता गरेर भए पनि समेटिनुपर्ने माओवादीका अर्का एक नेताले बताए । यस्तै नेपाल समाजवादी पार्टीका नेताहरूले पनि माओवादी केन्द्रका नेताहरूलाई भेटेर एकता गरेरै भए पनि समेटिनुपर्ने दबाब दिएका छन् । यसबारेमा स्वयम् भट्टराईले भने मुख खोलेका छैनन् ।
गत असार १ गते भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समाजवादी मोर्चामा समेटिने बताएका थिए । प्रचण्डलाई भेटेर फर्किएपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम र संगठनात्मक विधि निर्माणमा लाग्ने बताएका थिए ।
‘प्रम पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसी, लगायतका शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भयो’ बाबुरामले ट्वीटरमा लेखेका थिए, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानकालागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भयो ।’


सञ्चारपथ । ४ असार २०८०, सोमबार ०२:४५