सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश प्रहरी ऐनमा मुद्दा चल्ने प्रदेशका प्रहरी कार्यालयहरुमा सांकेतिक भाषका लागि दोभाषेको व्यवस्था गर्ने बताएका छन् ।
राष्ट्रिय अपाङग महासंघ कर्णाली प्रदेशका अध्यक्ष वसन्त जैसीको नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटघाट कार्यक्रममा मन्त्री जिसीले आपाङगता भएका व्यक्तीहरुको उजुरी लिन, मुद्दाहरुलाई अन्यत्र मोड्न नदिन तथा न्याय दिलाउनका लागि कम्तिमा प्रहरीका मुद्दा चल्ने कार्यालयहरुमा सांकेतिक भाषाको दोभाषेहरु आवश्यक रहेको बताए ।
‘अपाङगता भएकै कारण अन्याय सहने र उजुरी नै दिन नसक्ने अवस्था हुनु दुखःद अवस्था हो’, जिसीले भने, ‘यो राज्य सबैको हो, प्रहरी ऐनमा सांकेतिक भाषाको लागि व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’ कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार तथा कर्णाली सम्बृद्धि जस्ता जनतासँग प्रत्यक्ष जोडिएका कार्यक्रम लागु भइरहेको भन्दै अपाङगता भएका व्यक्तिहरुको लागि पनि सिप विकास र आयआर्जन सँग सम्बन्धीत कार्यक्रम बनाउनु पर्नेमा जोड दिए ।
अब प्रदेश सरकारले अपाङगता भएका व्यक्तिका लागि पनि रोजगारीका लागि केही प्रतिशत बजेटको व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले बताए । ‘उनीहरुको सिपविकास तथा आयआर्जनमा जोड दिने गरि नीति बनाउन मैले पहल गर्छु,’ उनले भने ।
साथै मन्त्री जिसीले प्रदेश सरकारले लक्षित वर्गका लागि भनेर आयआर्जन सम्बन्धी कार्यक्रम पनि गर्दैै आएको बताए । अबका दिनमा अपाङगता भएका व्यक्तिहरुलाई पनि लक्षित वर्ग भित्र राखेर कार्यक्रम बनाइने छ ।



सञ्चारपथ । ६ असार २०८०, बुधबार ०६:२३