आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ ।
खेल नेपाल समय अनुसार, १२ः ४५ बजे सुरु हुनेछ । विश्वकप छनोट खेल जिम्बाब्वेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो ।
हालसम्म एक जित र दुई हारको नतिजा निकालेको नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निकै महत्त्वपूर्ण छ । नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।
यसैगरी समूहगत चरणको आफ्नो तेस्रो खेलमा नेपाली टोली दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो । समूह ‘ए’ को अङ्क तालिकामा हालसम्म दुई खेल खेलेको वेस्ट इन्डिज चार अंकसहित पहिलो स्थानमा छ ।
आफूले खेलेको दुवै खेलमा विजयी भएको घरेलु टोली जिम्बाब्वे पनि चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । वेस्ट इन्डिज नेट रन रेटमा जिम्बाब्वेभन्दा अगाडि छ । दुई खेल खेलेको नेदरल्यान्ड्स एक जित र एक हारको नतिजाबाट दुई अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।
यसैगरी तीन खेलबाट एक जित र दुई हारको नतिजा निकाल्दै दुई अङ्क हात पारेको नेपाल तालिकाको चौथो स्थानमा आसीन छ । नेट रन रेटमा नेदरल्यान्ड्सले नेपाललाई पछि पारेको छ । तीनवटै खेलमा पराजित भएको अमेरिका पाँचौं स्थानमा छ ।
समूहका दुई बलिया टोली वेस्ट इन्डिज र जिम्बाब्वे प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्ने लगभग निश्चितजस्तै छ । त्यसैले सुपर सिक्स चरणमा पुग्न अब नेपाल र नेदरल्यान्ड्सबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।
पहिलो चरणको खेलपछि दुबै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली प्रतियोगिताको सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । दुबै समूहको चौथो र पाँचौं स्थानमा रहने टोलीले भने प्लेअफ चरणको खेल खेल्नेछन् ।
यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् । यसका अतिरिक्त यो प्रतियोगिताले सहभागी अन्य टोलीको वरीयतासमेत निर्धारण गर्नेछ ।


सञ्चारपथ । ९ असार २०८०, शनिबार ०३:३२