सुर्खेत । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले अहिलेको गणतन्त्र भनेको माफिया गणतन्त्र भएको टिप्पणी गरेका छन् यो जनताको गणतन्त्र नभई दलाल पुँजीवादी र माफियाको गणतन्त्र भएको उनको भनाइ छ ।
जहाँ दलाल पुँजीवादीहरुको राज गर्ने थलो बनिरहेको छ । बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले देशमा ठुलो संकट रहेको बताए ।
दलाल नोकरशाही, पुँजीवादी व्यवस्था रहेसम्म देश भ्रष्टिकरणबाट मुक्त रहन नसक्ने भन्दै उनले यो माफिया गणतन्त्र बदल्नका लागि क्रान्तिकारी कम्युष्टि पार्टीहरु एक ठाउँमा आएको बताए ।
शरणार्थी प्रकरण, ललिता निवास लगायतका दर्जनौँ काण्डहरुको विषयमा बोल्दै उनले भने,‘ संसदीय व्यवस्थाले देश भ्रष्टाचारमा डुब्यो ।’ संसदीय व्यवस्थाका नाईकेहरु नै ठुला काण्डका मतियार बनेको भन्दै यो व्यवस्था रहेसम्म देश उभो नलाग्ने उनको तर्क छ ।
‘अहिलेको सरकारले भ्रष्टाचारीलाई प्रकाउ गर्ने कुरा राम्रो हो तर, सरकारमै रहेका मन्त्रीहरु पनि तमाम भ्रष्टाचारका विषयमा जोडिएका छन्,’ उनले भने,‘ यसले भ्रष्टाचारको जालोलाई तोड्न सक्दैन । यो दलाल पुँजीवादी संसदीय व्यवस्था रहेसम्म यो देश उभो लाग्दैन ।’
साथै बास्तोलाले अहिले एकाधिरका पुँजीपतिहरु मात्रै देशमा फस्टाइरहेको बताए । जसले नेपालको सम्पत्ति शोषण गरेर विदेशमा जम्मा गरेका छन्।
उनले वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको नीति नै शोषण गर्ने रहेको बताए । जनमुखी कामबाट राज्य हात धोएर बसिरहेको बताउँदै शिक्षालाई व्यापारीकरण र स्वास्थ्य क्षेत्रको अवस्था दयनिए भएको उनको भनाइ छ ।
साथै उनले अहिले आएका नयाँ भनिएका पार्टीलाई ‘नयाँ बोतलमा पुरानो रक्सी’को टिप्पणी गरे । ती दलहरुले अहिलेकै व्यवस्था मान्ने र वर्तमान फोहोर सफा हुन नसक्ने उनको तर्क छ । बास्तोलाले बैँक, वित्तिय संस्थाहरुका नाइकेलाई जहाँ भेट्यो त्यही जनकारबाही गर्नुपर्ने बताएका छन् ।



सञ्चारपथ । १४ असार २०८०, बिहीबार ०५:५७