एमाले सांसद दक्षिणा शाहीद्धारा भौतिक मन्त्रीमाथि किताब प्रहार

 

सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद दक्षिणा शाहीले भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रीमाथि किताब प्रहार गरेकी छन् ।

बुधबार नेकपा माओवादी संसदीय दलको बैठक बसिरहेका बेला त्यहीँ पुगेर उनले बजेट किताब प्रहार गरेको पाइएको छ । माओवादी दलको बैठकमा एमाले सांसद छिरेपछि सबै सांसदहरु झस्किएका थिए ।

एक्कासी उनले ढोकाबाट नै मन्त्रालयगत बजेटको किताब हिकाईन् । उनले जोडले पछारेको किताब माओवादी सांसद मिलन खड्काको शरिरमा गएर लागेको थियो । यद्यपि खड्काले उक्त किताब हातले छेकेकी थिइन ।

बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, भौतिक मन्त्री मंगल शाही लगायत पार्टीका सबै सांसदहरु उपस्थित थिए ।

माओवादी सांसदहरुले एमाले सांसद शाहीको उक्त हर्कतलाई अमर्यादित हतर्कको संज्ञा दिएका छन् । ‘विरोध गर्ने, आफुलाई मन नपरेको कुरा संसदमा बोल्ने हो तर, उहाँले माओवादी दलको बैठकमा आएर किताब हान्नुभयो,’ माओवादी एक सांसदले भने,‘ यो संसदीय मर्यादा विपरितको कार्य हो जस्तो लाग्छ ।’

उनले भौतिक मन्त्रालयबाट आफ्नो जिल्लाका लागि आउनुपर्ने योजना नआएको रिस ओकल्दै दलकै बैठकमा आएर किताब पछारेकी हुन् । भौतिक मन्त्री शाहीलाई उनले आफ्नो जिल्लामा ३ वटा योजना हाल्न दिएकी थिइन । तर, किताबमा एउटै योजना नपरेपछि उक्त रिस पोखेकी हुन् ।

स्वंयम उनले पनि यो कुरा स्वीकार गरेकी छन् । उनले दलको बैठमा जानु आफ्नो कमजोरी रहेको बताइन । तर, आफुलाई मन्त्रीले झुक्काएको आरोप लगाइन । आफुले भनेका योजना नआएपनि किताब बुझाउन गएको उनको भनाइ छ ।

‘मैले धेरै पटक योजना नछुटाउनुहोला, समस्या छ भनेर ३ वटा योजना दिएको थिएँ ,’ उनले भनिन,‘ ३ वटा नभन्नु भाउजु २ वटा आउँछ भनेर भौतिक मन्त्रीले आश्वासन दिनुभएको थियो । ठिकै छ भनेको थिएँ , किताब ल्याएर हेर्दा एउटै योजना नआएपछि किताब फालेकै हो ।’

उनले मन्त्री शाहीलाई देवर भनेर सम्बोधन गर्छिन । उनले किताबमा योजना नआएको भन्दै मन्त्री शाही समक्ष किताब फालेको स्वीकार गरिन् ।

तपाईको प्रतिक्रिया