कर्णालीका स्वतन्त्र सांसद शाहीको कारबाही फुकुवा

 

कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित देवेन्द्रबहादुर शाहीको नेपाली कांग्रेस पार्टीले कारबाही फुकुवा गरेको छ।

स्वतन्त्रबाट निर्वाचित भएका शाहीलाई पार्टीको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने गरी शाही र उनका प्रस्तावक र समर्थक समेतको कारबाही फुकुवा गरिएको केन्द्रीय अनुशासन समितिले जनाएको छ।

जुम्ला प्रदेश सभा (क)बाट निर्वाचित स्वतन्त्र सांसद शाहीले कांग्रेस प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गराएका थिए। कांग्रेसको विधानमा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकको साधारण सदस्य नरहने उल्लेख छ।

तर, सांसद शाही र उनका प्रस्तावक समर्थकले पुनः पार्टीमा रही हिजोका गतिविधिलाई आत्मसात गर्दै क्रियाशील रहने प्रतिवद्धता जनाए अनुसार कारबाही फुकुवा भएको बताइएको छ।

कांग्रेसबाट विद्रोही उम्मेदवार बनेर स्वतन्त्रबाट निर्वाचित भएका सांसद शाहीको पार्टीले कारबाही फुकुवा गरेपछि उनि कांग्रेस सांसद बन्नेका छन्।

सांसद शाही निर्वाचित भएदेखि अहिलेसम्म स्वतन्त्र सांसदकै भूमिकामा थिए। शाही पार्टीमा फर्किएपछि अब, कर्णालीमा कांग्रेस सांसदको संख्या १५ पुगेको छ।

तपाईको प्रतिक्रिया