दैलेखका घनश्याम उपाध्याय सचिवमा बढुवा

 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारले निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उपाध्याय दैलेखका हुन् ।

उपाध्यायले २०७९ भदौ २२ गतेदेखि काठमाडौँ जिल्ला प्रशासनको कमान्ड सम्हालेका थिए । उनी ललितपुरको प्रजिअबाट काठमाडौँ आएका हुन् । २०७८ असोज १ गतेदेखि २०७९ भदौसम्म एक वर्ष ललितपुर बसेका थिए ।

ललितपुरअघि ७ महिना गृह मन्त्रालय बसेका उपाध्याय एक वर्ष प्रदेश अर्थ सचिवको रूपमा कर्णाली बसेर आइसकेका हुन् । उनी २०७६ वैशाखदेखि चैतसम्म प्रदेश बसेका थिए । पहिलो पटक सिडिओका रूपमा ललितपुर पुगेका उपाध्याय काठमाडौँ प्रजिअ हुने कर्णालीका दोस्रो व्यक्ति हुन् ।

नारायण नगरपालिका दैलेख घर भएका उपाध्याय २०५४ सालमा नायव सुब्बा(नासु)बाट निजामतीमा प्रवेश गरेका हुन् । जिल्ला सिँचाइ कार्यालय बर्दियामा पाँच वर्ष सेवा गरेका उपाध्याय २०५९ सालमा शाखा अधिकृत भए र ८ वर्ष अर्थ मन्त्रालय अन्तर्गत काम गरे ।

२०६८ मा उपसचिव भएसँगै राष्ट्रिय योजना आयोगको कार्यक्रम निर्देशक बसेका उनी २०६९ चैत ६ गते खुल्ला प्रतिस्पर्धाबाट सहसचिव भए । तीन वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, चार वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बसेका उनी त्यसपछि प्रदेश, गृह, ललितपुर हुँदै यति बेला जिल्ला प्रशासन काठमाडौँको कमान्ड सम्हालिरहेका थिए ।

तपाईको प्रतिक्रिया