नेपाल विद्युत प्राधिकरणले जुम्ला, हुम्ला डोल्पा र मुगुमा विद्युतीकरणका लागि सोलार परियोजनाहरु स्थापना गर्ने भएको छ । राष्ट्रिय ग्रिडबाट ११ केभीको लाइनमार्फत लगिने बिजुलीमा गुणस्तरको समस्या हुने र स्थानीय रुपमा समस्या आउँदा ‘ब्याकअप’ पनि राख्नुपर्ने अवस्था आएपछि ती जिल्लाहरुमा साना सोलार परियोजना राख्न लागिएको हो ।
त्यसका लागि नेपाल विद्युत प्राधिकरणले टेन्डर आह्वान गरिसकेको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानका अनुसार एसियाली विकास बैंकको सहयोगमा ४ वटा जिल्लामा सोलार प्लान्ट राख्न लागिएको बताउँछन् । जुम्ला र हुम्लामा १/१ मेगावाट तथा मुगुमा ४०० किलोवाट र डोल्पामा ६०० किलोवाटको सोलर परियोजना राख्न लागिएको हो ।
‘एक–एक मेगावाटको परियोजनाले त्यहाँको प्रणालीमा ३–४ घण्टा ब्याकअप गर्न सक्छन्,’ उनले भने, ‘सुर्खेतबाट ११ केभीको लाइनबाट लामो दूरी पार गरेर राष्ट्रिय प्रसारणको बिजुली पुर्याउने काम भइरहेकाले त्यहाँको प्रणालीलाई सहयोग पुग्ने गरी साना सोलार परियोजनाहरु स्थापना गर्न लागेका हौं ।’
सरकारी तथ्यांकअनुसार अहिलेसम्म नेपालमा ९७.२० प्रतिशत जनता विद्युतको पहुँचमा पुगेका छन् । प्राधिरकणको राष्ट्रिय प्रसारण प्रणालीबाट ९३.६५ प्रतिशत र विभिन्न वैकल्पिक ऊर्जामार्फत विद्युत सेवा लिनेहरु ३.५४ प्रतिशत छन् ।
देशभरका ७५३ मध्ये करिब ३० वटा स्थानीय तहमा अझै राष्ट्रिय प्रसारणको बिजुली पुगेको छैन । २३० स्थानीय तहमा आंशिक मात्रै विद्युतीकरण भएको तथ्यांक छ । मुगु र हुम्लामा अझै राष्ट्रिय प्रसारणको बिजुली पुगेको छैन ।



सञ्चारपथ । २० असार २०८०, बुधबार ०७:२८