सुर्खेत । पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख दत्त बुढथापालाई कुटपिट गर्ने एमालेका नेता एवं पूर्व सांसद दानसिंह परियार तथा वडाध्यक्ष खेमबहादुर रावलविरुद्ध मुद्धा दर्ता भएको छ ।
शनिबार अपरान्हसाढे ४ बजेतिर आफ्नो कार्यकक्षमा बुढथापा काम गरिरहेका थिए । परियार र रावल कार्यालयमै पुगेर सांघातिक आक्रमण गरेका थिए ।उनीहरुले काम गरेको भन्दा बढी भुक्तानी नदिएको भनेर कार्यालय प्रमुखमाथि आक्रमण गरेका हुन् ।
कार्यालयले अन्य पालिकाको झुक्तानी दिई नगरपालिकाका दुई ओटा वडाको अनुगमन गरेर रनिङ्ग बिलको आधारमा भुक्तानी दिने तयारी गरेको समयमा सांसद परियार उनको कार्यकक्षमा आएको थापाले बताएका छन् ।
बुढथापाले शनिबारै प्रहरीसमक्ष उजुरी दिएका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई मुद्धा दर्ता गर्यो । जिल्ला अदालतबाट उनीहरूमाथि अनुसन्धानका लागि १० दिन म्याद थप भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनालाई लिएर नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती कर्णाली प्रदेश समितिले आपत्ति जनाएको छ । कानुनको संरक्षक र राज्यका जिम्मेवार व्यक्तिबाट यस प्रकारको घटनामा संलग्न भई कानुन आफ्नो हातमा लिने कुराले कर्मचारीहरु मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ । संगठनले उनीहरुलाई कडा कारबाही गर्न माग गरेको छ ।


सञ्चारपथ । २५ असार २०८०, सोमबार १०:४७