कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण कार्य सफल भएको छ।
बिहीबार रोल्पाको रोल्पा नगरपालिका–२ का ३७ वर्षीया बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
प्रदेश अस्पतालमा नियमित रूपमा मिर्गौला प्रत्यारोपण गर्ने योजना अनुसार सबै कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पुर्याएर दोस्रो पटक सफल प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए।
दोस्रो पटक प्रत्यारोपण गरिएका बिरामीलाई उनकी ५५ वर्षीया आमाले मिर्गौला दान गरेकी हुन्।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र अस्पतालका निर्देशक डा. खड्काको समूहले मिर्गौला प्रत्यारोपण गरेको हो।
यसअघि यही टोलीको नेतृत्वमा २०७९ माघ २१ गते कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
नेपालका सबै प्रदेशहरूमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने राष्ट्रिय प्रत्यारोपण केन्द्रको योजनाअन्तर्गत कर्णाली प्रदेश अस्पताल र केन्द्रबीच २०७८ चैत १० गते यो सेवा सुरू गर्ने सम्झौता भएको थियो।
कर्णाली प्रदेश अस्पतालमा नियमित रूपमा प्रत्यारोपण सेवा सुरू गर्ने योजनासहित अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकको सम्बन्धित क्षेत्रको क्षमता बढाउन तालिमको लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पठाउने योजना रहेको निर्देशक खड्काले जानकारी दिए।
‘सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला बिरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य लिएर कर्णाली प्रदेशमा पनि नियमित सेवा सुरू गर्न प्राविधिक सहयोग गरेको छ, आगामी दिनमा पनि सहयोगको प्रतिबद्धता जनाएको छ,’ प्रदेश अस्पतालका निर्देशक प्रा. डा. खड्काले भने।
राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले नेपालको पश्चिमी क्षेत्रमा मिर्गौला प्रत्यारोपण गर्ने चलन नबसेको बताए।
‘हाम्रोमा पनि यताको तुलनामा पूर्वका धेरै बिरामीहरूले प्रत्यारोपण गर्नुहुन्छ, यो क्षेत्रमा यसको चलन नभएको देखियो,’ उनले भने, ‘यहाँको प्रदेश अस्पतालले नियमित सेवा सुरू गरेपछि यताका पनि बिरामीहरूले मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ भन्ने थाहा पाउनेछन्, यसका लागि हाम्रो तर्फबाट सक्दो सहयोग रहन्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले कर्णाली प्रदेश अस्पतालको सेवा विस्तार तथा गुणस्तरका लागि सम्बन्धित मन्त्रालयको तर्फबाट गर्न मिल्ने सहयोग रहने प्रतिबद्धता जनाइन्।


सञ्चारपथ । २९ असार २०८०, शुक्रबार ११:५२