पुर्वी सुर्खेतमा ईलाका प्रशासन कार्यालयकाे उद्घाटन

 

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गुर्भाकोट नगरपालिका -७ मेहेलकुनामा ईलाका प्रशासन कार्यालयकाे प्रारम्भ भएको छ।

नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले सनिबार एक कार्यक्रमकाबीच कार्यालयकाे उद्घाटन गरेका हुन्।

यसअघि वीरेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिईरहेका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबेसी नगरपालिका र भेरीगंगा नगरपालिकाका नागरिकले अब मेहेलकुनाबाटै सेवा लिन पाउने छन्।

उपप्रधानमन्त्री खड्काले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको बताए।

सेवा प्रारम्भ दिनको अवसरमा दुई ओटा नागरिकता समेत वितरण गरिएको छ। स्थानीय रोशनी शर्मा र प्रेरणा शर्माले नागरिकता प्राप्त गरेका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आवश्यकता अनुसार आम नागरिकलाई समेट्ने किसिमका योजनाहरू समावेश गरिने बताए।

रोजगारी सिर्जना गर्न कर्णाली समृद्धि अभियान अन्तर्गत १० हजारलाई रोजगारी दिई स्वरोजगार बनाउने प्रदेश सरकारको योजना रहेको जानकारी दिए।

आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सरकारप्रति नागरिकको अपेक्षा ठूलो हुनु स्वाभाविक भएको बताउँदै आवश्यकता अनुसार सेवा पहुंच प्राप्त होस् भनी इलाका प्रशासन कार्यालयको सुरुवात भएको बताए।

भाडाको घरबाट सेवा प्रारम्भ गरेको प्रशासन कार्यालयको लागि आगामी केही वर्ष भित्रै आफ्नै भवन निर्माण गरिदिने मन्त्री जिसीले प्रबद्धता जनाए।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सो कार्यालयबाट प्रशासनिक कार्यहरू अन्तर्गत नागरिकता र सिफारिसका कामहरू सञ्चालन हुने बताए।

तपाईको प्रतिक्रिया