सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ ।
उनीहरूबाट जन्मिएका एक सय ८० बच्चा कम तौलका रहेको सो कार्यालयले जनाएको छ । दुई वर्ष पहिला २० वर्ष नपुग्दै आमा अर्थात् गर्भवती हुने किशोरीको सङ्ख्या आठ सय ६० रहेकोमा आव २०७९/८० मा दोब्बरले घटेर तीन सय १० कायम भएको कार्यालय प्रमुख सुमाइको भनाइ छ ।
तीन सय १० जना किशोरीमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय २७ जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सबैभन्दा कम सिञ्जा गाउँपालिकामा पाँच जना २० वर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले बढी देखिएको हो ।
यस वर्षको तथ्याङ्कले जुम्लामा बालविवाह घट्दै गएको देखाए पनि अवस्था सन्तोषजनक नरहेको तातोपानीका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले जानकारी दिए । अझै गाउँघरमा बालविवाहका असर तथा कानुनी दण्ड सजायबारे सचेतना फैलाउन जरुरी रहेको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए । तथ्याङ्कले बालविवाहमा अपेक्षित सुधार नआए पनि बालविवाह दर घट्दो क्रममा रहेको स्थानीय तहका महिला तथा बालबालिका शाखाले जनाएका छन् ।


सञ्चारपथ । ३ श्रावण २०८०, बुधबार ०३:०६