काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरुले सभापति कहाँ नबोलाए पनि जानुपर्ने बताएका छन् । सोमबारको बैठकमा उपसभापति खड्काले महामन्त्री सभापतिको सल्लाहकार पद भएको बताए ।
सभापति र महामन्त्रीका बीचमा संवाद बाक्लो भए राम्रो हुने पनि उनले बताए । पार्टीमा प्रस्तुत कार्यक्रम महामन्त्री र सभापतिको सल्लाहपछि आएको उनको भनाइ थियो । ‘महामन्त्री गगन थापाले राखेका प्रस्ताव उपलब्ध पदाधिकारीको छलफलबाटै तय भएको जानकारी गराउन चाहन्छु,’ उपसभापति खड्काले भने, ‘हाम्रो पार्टीको बैठक सभापतिजीले नबोलाएकै कारण ढिला भएको हो भन्ने कुरा पनि गलत हो ।’
सभापतिले सल्लाहमै बैठक सारेको भन्दै बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय पनि सभापतिले छलफलबाटै लिएको खड्काको भनाइ थियो ।
खड्काले पार्टीमा गुट अन्त्य नहुने भन्दै विचार समूह वा गुटलाई नर्कान नसकिने बताए । ‘पार्टीभित्र विचार समूह हुन्छ, यसलाई नकारेर हुँदैन । विचार समूह हुन्छ । बीपी, गणेशमान, किसुनजीलगायतको पनि थियो । पार्टीभित्र निर्णय गर्दा अधिवेशनमा जाँदा कहिले काहीँ नीतिगत निर्णयमा जाँदा विचार समूह बन्छ । त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने महत्वपूर्ण कुरा हो,’ उनले भने ।
उनले पार्टीमा गुनासो नहुने गरी काम गर्नु नै पार्टी सुधार र रुपान्तरण भएको बताए । उनले आएका गुनासाहरू सभापतिले आफ्नो तहबाट र पदाधिकारीहरूले आफ्नो तहबाट सुधार गर्नुपर्ने बताए ।


सञ्चारपथ । ८ श्रावण २०८०, सोमबार १३:२५