सुर्खेतमा फुटबल एकेडेमीे उद्घाटन

सुर्खेतमा फुटबल एकेडेमीेको उद्घाटन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर –४ मा स्थापना भएको योद्धा फुटबल एकेडेमीको नयाँ वर्ष २०८१ को पहिलो दिन शनिबार उद्घाटन गरिएको हो । एकेडेमी संचालक उगुना शाहीका पिता पृथ्वी बहादुर शाही, माता मुक्ति शाहीले रिवन काटेर तथा समारोहका प्रमुख अतिथ कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमालले फुटसलमा रहेका बलहरुलाई खुट्टाले हानेर एकेडेमीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई संवोधन गर्दै परिषद्का उपाध्यक्ष एवं कर्णाली फुटबल संघका अध्यक्ष प्रमोद हमालले कर्णालीबाट फुटबल खेलाडी उत्पादन गर्ने थलोको रुपमा एकेडेमी स्थापना भएकोमा खुशी व्यक्त गरे । उनले एकेडेमीको निरन्तरता र विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

१० कट्ठा क्षेत्रफलको जग्गामा झण्डै सवा करोडको लगानीमा स्थापना भएको एकेडेमीलाई व्यवसायको रुपमा संचालन गर्ने संचालक उगुना शाहीले जानकारी दिइन् । उनले भविष्यमा कर्णालीबाट थुप्रै खेलाडी उत्पादन गर्ने थलोको रुपमा एकेडेमीले काम गर्ने बताइन् । उनका अनुसार एकेडेमीमा ब्याडमिन्टन, भलिबल, स्विमिङ लगायत विभिन्न खेलकुदको प्रशिक्षण दिइने छ भने एकेडेमीको परिसरमा सोही अनुसारका संरचना समेत निर्माण गरिने छ ।

८ बर्षदेखि २० बर्ष सम्मका बालबालिका तथा युवायुवतीलाई खेलको आधारभूत ज्ञानदिदै खेलाडी उत्पादन गर्ने उद्धेश्यले स्थापना गरिएको एकेडेमीले मासिक २५ सय शुल्कमा बालबालिकालाई फुटबलको प्रशिक्षण दिइरहेको छ । अहिले २५ जना बालबालिकाले फुटबल सिकिरहेका छन् ।

योद्धा फुटबल एकेडेमी योद्धा शाहीको नामबाट स्थापना भएको एकेडेमी हो । उनी त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । शाहीको पारिवारिक लगानीमा एकेडेमी स्थापना भएको हो ।

 

तपाईको प्रतिक्रिया