
संचारपथ संवाददाता
सुर्खेत, सुर्खेतको चिङ्गाड गाउँपालीकाले आगामी आर्थिक वर्षको निति कार्यक्रमका लागि सुझाव संकलन गरेको छ ।
आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सर्वदलिय र सर्वपक्षिय सरोकारवालाहरु संग सुझाव संकलन गरेको हो ।
बिहिवार पालीकाको सभाहल राजीकुनामा भएको कार्यक्रममा पालिका स्थित राजनैतिक दल लगायत विभिन्न सरोकारवालहरुसंग सुझाव लिईएको हो । कार्यक्रममा राजनीतिक दलका नेता एवम् सरोकारवालहरुले दिर्घकालीन प्रभाव पार्ने खालका कार्यक्रम ल्याउन सुझाव दिएका छन ।
एमाले नेता टोप वहादुर अधिकारले टुक्रे एवम् वितरणमुखि कार्यक्रम बन्द गर्न सुझाव दिए । उनले आगामी वर्षका लागी विकासमुखि एवम् जनस्तरमा प्रत्यक्ष प्रभाव पर्ने कार्यक्रम अघि सार्न स्थानीय सरकारलाई सुझाव पेश गरे ।
यस्तै पत्रकार धर्मराज जिसीले पालीकाका अधिकांस नागरिक कृषिमा निर्भर रहेकोले कृषि क्षेत्रलाई लक्षित गरि कार्यक्रम ल्याउन सुझाब दिए । जिसीले चिङ्गगाड करिडोर, चिङ्गगाड जलाशय तथा विद्युत निर्माण गृह, पालिका स्तरमा नमुना कृषि नर्सरी, नमुना पशुपालन फर्म तथा नमुना विद्यालय बनाइ काम गर्न सुझाब दिए । मानव विकास सुचाङ्कमा पछि रहेको चिङ्गाडमा सडक खन्ने र जाली लगाउने काममा मात्र भन्दा पनि जनचेतना तथा सुचना सञ्चार क्षेत्रमा पनि लगानी बढाउनु पर्नेमा जिसीको जोड थियो ।
स्थानीय व्यावसायी तिलक रोकायले प्रत्येक वर्ष कार्यक्रमहरु ल्याउने गरिएको भएपनि नतिजामुखि काम हुन नसकेको बताए ।
अधिकांश सहभागिहरुले शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रमा परिणाम आउने गरि नीति कार्यक्रम र बजेट ल्याउन सुझाव दिए । वास्तविक किसानहरुले पालीकावाट आवश्यक सहयोग पाउन नसकेको उनिहरुको गुनासो छ । आगामी वर्ष पालीकाको विकासले गतिलीने विश्वास लिएको सहभागीहरुको भनाई थियो ।
सहभागीहरुको सझाव पछि बोल्दै गाउपालीकाका अध्यक्ष बोधविक्रम जि.सी.ले यस वर्ष बन्ने नीति, कार्यक्रम र बजेटले शिक्षा, स्वास्थ, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखिने बताए । उनले स्थानीय सरकारको एकल प्रयासले मात्रै सोचेजति प्रगति हासिल हुन नसकेको भन्दै यसमा माथिल्ला सरकारहरुल्े पनि आवश्यक पहल लिनुपर्ने बताए ।
यद्यपी पालीका वासिको माग सम्वोधन गर्ने पहिलो जिम्मेवारी आफ्नै भएको भन्दै उनले सवै क्षेत्रको आवश्यकता सम्वोधन गर्ने गरि नीति निर्माण र बजेट ल्याईने बताए ।
आगामी वर्ष चिङ्गाड बासिले विकासको केही नयाँ र फरक अनुभुति गर्ने बताउदै यसमा सवैको सहयोग र हातेमालोको आवश्यकता रहेको समेत बताए ।



सञ्चारपथ । १८ जेष्ठ २०८१, शुक्रबार ०८:२४