रोचक बन्दै अछाम – २ को प्रतिनिधिसभा चुनाव

अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा चुनावमा नेपाली कम्युनिष्ट पार्टीको तारा चुनाव चिन्हबाट उम्मेदवारी दिएका बलबहादुर कुवर चर्चामा छन् । कांग्रेसले निवर्तमान सांसद पुष्पबहादुर शाहलाई पुनः टिकट दिएपछि आफूलाई अन्याय भएको भन्दै कुवरले तारा चिन्हबाट उम्मेदवारी दिएका हुन् । २०७० सालको दोस्रो संविधानसभा चुनावमा कांग्रेसबाट झिनो मतान्तर र २०७४ को प्रदेशसभा चुनावमा पराजित कुवर अछाम–२ का लोकप्रिय नेताका रूपमा चिनिन्छन् । लामो समयदेखि स्थानीय राजनीतिमा सक्रिय कुवर २०४९ सालमा तत्कालीन ढकारी गाविस–१ का अध्यक्ष बनेका थिए भने पछि जिल्ला विकास समितिको सदस्य भएका थिए । यसपटक अछाम–१ बाट चुनाव लड्न लागेका नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलसँगको सहकार्यमा कुवर तारा चिन्हबाट उम्मेदवार बनेपछि उनको चर्चा झनै चुलिएको छ । रावल पक्षधर पूर्व एमाले कार्यकर्ता तथा असन्तुष्ट कांग्रेस नेताको समर्थन कुवरलाई रहेको चर्चा छ । उम्मेदवारी दर्तापछि सामाजिक सञ्जालमार्फत कुवरले आफू नेपाली कम्युनिष्ट पार्टीबाट चुनाव लड्न लागेको उल्लेख गर्दै सबैसँग मतको अपेक्षा गरेका छन् । सामाजिक सञ्जाल, स्थानीय जमघट र चिया पसलदेखि चौतारोसम्म कांग्रेसका पुष्प शाहभन्दा कुवरको चर्चा बढी देखिन्छ । नागरिकहरूका अनुसार यसअघि निर्वाचित पुष्प शाहले दुई वर्षे कार्यकालमा काम गर्न नसकेको गुनासो छ । यसपटक त्यसको प्रत्यक्ष लाभ कुवरले लिने देखिएको छ । बाहिरबाट कांग्रेसका आधिकारिक उम्मेदवारको प्रचार गरे पनि भित्री रूपमा कांग्रेसकै धेरै नेता–कार्यकर्ता कुवरलाई भोट हाल्ने पक्षमा रहेको बताइन्छ । नाम नखुलाउने सर्तमा एक कांग्रेस नेताले भने, “पार्टीका आधिकारिक उम्मेदवार भएकाले सार्वजनिक रूपमा पार्टीकै पक्षमा मत माग्नुपर्छ । तर व्यक्तिगत हिसाबले जित्नुपर्ने नेता बलबहादुर जी नै हो ।” समग्रमा, पार्टीको निर्णयविरुद्ध विद्रोह गर्दै अर्कै पार्टीबाट चुनावी मैदानमा उत्रिएका कुवरको लोकप्रियता बढ्दै जाँदा अछाम–२ को चुनाव निकै रोचक बन्ने देखिएको छ । अछाम २ बाट एमालेका यज्ञ बोगटी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुपदेव शाह चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया