कस्तो थियो सामन्ती अर्थव्यवस्था ?

 

दासहरूलाई आफ्नो ज्युज्यान माथिको सम्प्रभुता, परिवारसँग आफ्नै कटेरामा बस्न पाउने अधिकार, केही सानोतिनो जोत तथा गाई बस्तु पाल्न पाउने आदि जस्ता सामान्य अधिकार स्थापित गर्नु सामन्ती उत्पादन प्रणालीको पहिलो र महत्त्वपूर्ण अग्रगामी कदम थियो। तर, यस सामाजिक-आर्थिक प्रणालीमा पनि त्यो श्रमिक किसान वर्ग, उपरोक्त केही अधिकार प्राप्त भए पनि, सम्पूर्ण उत्पादनका साधन- जल, जमिन, जंगल, कृषि औजार, पशुधन आदि जस्ता उत्पादनका साधन र सम्पत्तिबाट र श्रमका साधन श्रोतबाट वञ्चित पराधीन भूदास, कमैया, बँधुवा मजदुर आदिमा परिणीत हुन पुग्यो।

तर, यसका साथै यस संरचनाले स्वतन्त्र किसान र कास्तकारहरूले पनि जन्म लिन सक्ने अवस्था सृजना गर्‍यो। यस प्रकार सामन्ती उत्पादन प्रणाली राजा रजौटा, सामन्त, ठूला भूमिपती, धार्मिक महन्त तथा भूदास, स्वतन्त्र कृषक र कास्तकार सहितको मिश्रित सामाजिक-आर्थिक संरचनामा परिणीत हुन पुग्यो। तर, आर्थिक प्रणाली तथा राजसत्ता सम्राट, राजा रजौटा, सामन्त, ठूला भूमिपती, धार्मिक महन्तहरूको हातमा थियो र उत्पादन प्रणाली निर्णायक रूपमा यिनै सामन्ती वर्ग तथा तपकाहरूको स्वामित्वमा थियो। अधिकार विहीन कृषक वर्ग तिनका अधीन भूदास, कमैया, बँधुवा मजदुर आदिको अवस्थामा थिए। यसै संरचनाको गर्भबाट उदीयमान नयाँ पूँजीपती तपका, साहुमहाजन, स्वतन्त्र व्यापारी, ज्यासल र तिनका मालिक तथा मजदुर आदि जस्ता भावी पूँजीवादी सामाजिक-आर्थिक संरचनाका भ्रूणहरू जन्मिए।

सामन्ती सामाजिक-आर्थिक संरचना अनेकौं सामाजिक-आर्थिक अन्तरद्वन्द्व, वर्गसंघर्ष, विद्रोह, सशस्त्र युद्ध, मुक्ति आन्दोलनका साथै उत्पादन सम्बन्धहरूमा सामान्य सुधार र परिवर्तन आदिका विभिन्न चरण पार गर्दै हजारौं वर्ष जीवित रहेको ज्ञात इतिहासकै दीर्घजीवी संरचना हो जसका अवशेष यत्रतत्र आज पनि छन्। यसको इतिहास किसानहरूका अगणित किसान विप्लवहरूले भरिएको इतिहास रहेको छ। यी विद्रोह कहिलेदेखि सुरु भए त्यो भन्न नसकिए पनि आम रूपमा रोममा कुलीन सामन्ती घराना तथा सामान्य कृषकजनबीच भूस्वामित्व र नागरिक स्वतन्त्रताको लागि इसापूर्व दुई सय वर्षदेखि सुरु भएर ३० ई.पूमा समाप्त भएको रोमको गृहयुद्धलाई मात्रे गरिएको छ। यस युद्ध पश्चात रोममा भूमिको हदबन्दी र केही नागरिक अधिकार स्थापित गरिए। यस्तै युरोपमा जमिनको स्वामित्वलाई लिएर ‘आन्ना बापटिष्ट’ आन्दोलन, ब्रिटेनको ‘ट्र्यू डिगर’ आन्दोलन, रुसमा राजीन्या र पुगाच्यौभको किसान विद्रोह आदि इतिहासमा अंकित भएका विद्रोह हुन्।

बहु आयामिक सामाजिक विभाजन र वर्गीय बनौट, वर्णगत, जातिगत, वंशगत, धर्म र पेशागत विभाजन, स्वतन्त्र कृषक, कास्तकर, ज्यासल मालिक, ज्यासल, खानी र कृषि मजदुर, स्वतन्त्र व्यापारी, ग्रामीण र शहरिया शूदखोर पूँजीपती आदिको समानान्तर सहजीवन र पारस्परिक अन्तरद्वन्द्व आदि यसका विविध पक्ष रहेका हुन्। कृषक वर्ग र सामन्ती वर्गबीचको वर्ग संघर्ष यसको मूल चरित्र रहे पनि ज्यासल मालिक, खानी मालिक, सूदखोर पूँजीपति तपका र स्वतन्त्र व्यापारी वर्गको रूपमा उदीयमान पूँजीजीवी तपका हरूको सामन्ती संरचनाको अन्त र स्वतन्त्र पूँजीवादी विकासका लागि सामन्ती अभिजात वर्ग, तथा भूमिपति सामन्तहरूका विरुद्ध राजनैतिक संघर्ष र त्यस संघर्षमा किसान तथा यी नवोदित पूँजीवादी तपकाहरूको एकता यसको अर्को विशेषता रहेको हो। यस पृष्ठभूमिमा पूँजीवादी क्रान्तिको सम्पन्नतासँगै सामन्ती स्वामित्वको दाशताका विभिन्न बन्धनमा बाँधिएको बँधुवा कृषक वर्ग र गरिब किसान वर्ग स्वतन्त्र श्रमिकको रूपमा श्रम बजारमा पुग्यो भने उपरोक्त नवोदित पूँजीवादी तपकाहरूको विभिन्न खालको सञ्चित पूँजी स्वतन्त्र औद्योगिक क्षेत्रमा प्रवेश गर्‍यो। समाज पूँजीवादी सामाजिक-आर्थिक संरचनाको चरणमा प्रवेश गर्न पुग्यो र समाजमा श्रम र ज्यालाका सम्बन्ध स्थापित भए।

तपाईको प्रतिक्रिया