फुकोट कर्णालीलाई पनि भारतकाे हातमा थम्याउने षड्यन्त्र

 

सुर्खेत । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा फुकोट कर्णाली जलविद्युत् आयोजनाबारे छलफल हुने भएको छ ।

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ मा रहेको सो आयोजना निर्माणको जिम्मा भारतलाई दिने लगभग तय भइसकेको छ, त्यसको औपचारिक सम्झौता प्रधानमन्त्री प्रचण्डको भ्रमणको क्रममा हुने बताइएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय स्रोतका अनुसार सम्झौताको मस्यौदा लगभग तयार भइसकेको छ । भारतमा दुई देशको प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता हुने मन्त्रालयको भनाइ छ ।

४८० मेगावाटको सो आयोजनाका लागि भारतले सुरुदेखि नै चासो लिँदै आइरहेका थिए । २०७९ फागुन ६ गते भारतमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा फुकोट कर्णाली जलविद्युत आयोजनामा भारतीय लगानी ल्याउने सहमति भएको बताइएको छ । तर सो सहमतिलाई दुवै देशले गोप्य राखेको छ । बैठकपछि जारी गरेको संयुक्त विज्ञप्तिमा फुकोट कर्णाली आयोजनाको बारेमा केही उल्लेख गरिएको छैन ।

सो आयोजनामा भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इन्डिया लिमिटेडले लगानी गर्ने त्यो पनि लगभग निश्चित भइसकेको मन्त्रालय स्रोतले जनाएको छ ।
२०७८ चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको बेला नै फुकोट कर्णाली जलविद्युत आयोजनाको बारेमा सम्झौता हुने कुराकानी चलेको थियो तर तयारी नपुगेको कारण त्यतिबेला सम्झौता हुन सकेको थिएन । तर सो आयोजना नेपाल र भारतका दुवै कम्पनीले मिलेर बनाउने मौखिक सहमति भएको थियो ।

नेपाल सरकारको स्वामित्वमा रहेको विद्युत् उत्पादन कम्पनीसँग मिलेर एनएचपीसीले आयोजनामा लगानी गर्ने बताइएको छ । तयार भएको मस्यौदा अनुसार सम्झौतापत्रमा हस्ताक्षर भयो भने नेपालको विद्युत् उत्पादन कम्पनी र भारतको एनएचपीसी कम्पनी मिलेर छुट्टै कम्पनी खडा गर्ने र त्यसैमार्फत आयोजनाको निर्माण काम गर्नेछ ।

प्रारम्भिक मस्यौदाअनुसार नेपालको विद्युत् उत्पादन कम्पनीको ४९ प्रतिशत र भारतको एनएचपीसीको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ तर यसमा अझै छलफल चलिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

आयोजनाबाट नेपालले मासिक रुपमा २१.९ प्रतिशत निःशुल्क विद्युत् पाउने पनि प्रारम्भिक मस्यौदामा उल्लेख रहेको स्रोतले जनाएको छ । यो सँगै भारतले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनामा पनि चासो बढाएको छ ।

तपाईको प्रतिक्रिया