कर्णाली प्रदेशले पहिलो पल्ट राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
रामजानकी क्रिकेट मैदान भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो उपाधि जितेको हो ।
अन्डरडग कर्णालीले जितका लागि सुदूरपश्चिमलाई १४१ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य पछ्याएको सुदूरपश्चिम कर्णालीका बलरसामु टिक्न नसकी ८९ रनमा अल आउट भयो ।
ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । कर्णालीका लागि ओपनर रविन्द्र जंग शाहीले २७ बलमा २१ रन बनाए । उनीपछिका ओपनर दिवान पुन डकआउट भए ।
अर्जुन घर्ती पनि डक आउट भएपश्चात कर्णाली धरमराएको थियो । तर त्यसपछि आएका दिपेन्द्र रावतले कर्णालीको ब्याटिङ उकासे । उनले ५० बलमा ४९ रन बनाए ।
हिमान्सु शाहीले २१ बलमा २५ रन बनाए । कर्णालीका लागि विपिन रावलले पछिल्लो ओभरमा आक्रामक खेल प्रदर्शन गरे उनले १३ बलमा ३ चौका र १ छक्का सहित २४ रन बनाए । प्रकाश जैशी शुन्य र दिनेश अधिकारी ११ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि नरेन साउद र कप्तान नारायण जोशीले समान २–२ विकेट लिए ।



सञ्चारपथ । २६ जेष्ठ २०८०, शुक्रबार १३:०२