सुर्खेत । सुर्खेतमा बिहीबार समाजवादी मोर्चाको ‘सन्देशसभा’ हुने भएको छ ।
उक्त सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित समाजवादी मोर्चाका शीर्ष नेताहरू सुर्खेत आउन लागेका छन् ।
प्रचण्डसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सभालाई सम्बोधन गर्ने छन् ।
कार्यक्रमबारे बुधबार पत्रकार सम्मेलन गरेर नै जानकारी दिइएको छ । मोर्चाका प्रदेश संयोजक एवम् माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले कार्यक्रम सिटी हलमा आयोजना गरिएको जानकारी दिइन् ।
बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्डसहितका नेताहरु बिहीबार नै काठमाडौँ फर्कने छन् ।
संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक, आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको मुख्य उद्देश्य रहेको केसीको भनाइ छ ।


सञ्चारपथ । १३ भाद्र २०८०, बुधबार ०६:२२